Logo

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक : नेता खनाल



काठमाडौँ, २७ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज सहिद रत्नकुमार बान्तवाको ३८औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँँले तीनवटै तहको निर्वाचन नगरे मुलुकमा सङ्क्रमणकाल बढ्ने बताउनुभयो ।

“एमाले जतिबेला पनि निर्वाचनका लागि तयार छ,” उहाँले भन्नुभयो । सहिद बान्तवाको सम्मानका लागि पार्टी गम्भीरतापूर्वक लागिपरेको र उहाँलाई पार्टीले कहिल्यै नबिर्सने बताउनुभयो । बान्तवाको नाममा प्राविधिक शिक्षालय सञ्चालनको तयारी भइरहेको नेता खनालले जानकारी दिनुभयो ।

विसं २००८ चैत २७ गते जन्मिएका बान्तवा २७ वर्षको उमेरमा २०३५ सालमा इलामको इभाङमा प्रहरीको गोलीबाट मारिनुभएको थियो । अर्का योद्धा बमप्रसाद बान्तवाको विषयमा भने यथोचित काम गर्न नसकेको खनालले स्वीकार गर्नुभयो । बमप्रसाद समेत पञ्चायतविरुद्धको आन्दोलनका क्रममा इलाममै मारिनुभएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय देवराज घिमिरे र रामकुमारी झाँक्रीले आफ्नो धारणा राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्