Logo

प्रधानमन्त्री र गृहमन्त्री निधिवीच कुरा मिल्यो, मन्त्रिपरिषदबाट संशोधन प्रस्ताव आजै पारित गराउने



काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधिवीच करिब एक घण्टा भेटवार्ता सम्पन्न भएको छ ।

वरियताक्रममा विवाद देखिएपछि प्रधानमन्त्री दाहालसँगपनि रुष्ट देखिएका उपप्रधानमन्त्री निधिले आज प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । उनीहरुवीच भएको लामो भेटवार्तामा वरियताक्रमको विवाद समाधान भएको दाबी स्रोतले गरेको छ । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेलगत्तै निधि र थापावीच दोस्रो वरियता को हुने भन्नेबारे विवाद उत्पन्न भएको थियो । यसकै कारण झण्डै एक महिनादेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन् ।

आज भने दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्ने पक्का भएको छ । निधिले प्रधानमन्त्री दाहालसँग भेट गरेर मर्यादाक्रममा आफ्नो कुनै दाबी नरहेको बरु मुलुकको समस्या समाधान गर्नतर्फ अग्रसर हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए । निधिले यस्तो बताएपछि आज बस्ने मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरीको आइजीपी नियुक्ती र नयाँ संविधान संशोधन विद्येयकबारे महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि नै नयाँ संशोधन प्रस्ताव तयारी अवस्थामा रहेको र यसलाई मन्त्रिपरिषदबाट पारित गराएर संसदमा दर्ता गराउने उद्धघोष गरेका थिए । सोही अनुसार आज बस्ने बैठकमा नयाँ संशोधन विद्येयक पारित गराएर आजै संसदमा दर्ता गराउने सरकारको तयारी रहेको छ । यसको लागि प्रधानमन्त्री दाहालले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकलाई निर्देशन दिईसकेका छन्।

त्यस्तै आजको मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तीबारे समेत महत्वपूर्ण निर्णय हुने स्रोतले जनाएको छ । बैठकले नयाँ आईजीपी तोक्ने समेत बुझिएको छ ।

तर आजको मन्त्रिपरिषदको बैठकमा भने उपप्रधानमन्त्री निधि नजाने सहमति भएको छ । प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि निधि केही दिन मन्त्रिपरिषदको बैठकमा नजाने भद्र सहमति भएको छ । मन्त्री निधिको प्रस्ताव भने प्रधानमन्त्रीले नै लैजाने सहमति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्