Logo

मधेसी मोर्चाद्धारा व्यवस्थापिका–संसद बैठक बहिष्कार



काठमाडौँ, २८ चैत । मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले आजको व्यवस्थापिका संसद बैठक पनि बहिष्कार गर्नुभयो । बैठक आरम्भ हुँदासाथ थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकारले नसुनेको र संसद्ले पनि बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरु निर्वाचनको विरोधी नभएको तर राजनीतिक वातावरण नबनेसम्म स्थानीय निर्वाचन हुनसक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने र संसद्को बैठक पनि बहिष्कार गर्ने घोषणा गर्नुभएपछि मोर्चा निकट सांसद्हरु नाराबाजी गर्दै बाहिरिनुभयो ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निर्वाचन, संविधान संशोधन र मन्त्रिपरिषद्को बैठक प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष र शून्य समयमा नेकपा (एमाले) का सत्यनारायण मण्डलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीस्थित आफ्नो घरमा आइतबार आमा, श्रीमती र बुहारीलाई अभद्र व्यवहार गरेको बताउँदै दोषीलाई कारबाहीको माग गर्नुभयो ।

सोही पार्टीका केशवप्रसाद बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रलाई महत्वपूर्ण सहयोगी बनाउन विश्व सहकारी आन्दोलनलाई सम्मान हुने गरी सहकारी ऐनमा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

एमालेकै हर्कबोल राईले भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म पुनःनिर्माणको कामले गतिलिन नसकेको गुनासो गर्नुभयो । सांसद रेवतीरमण भण्डारीले संसद्मा उठेका विषयलाई रिपोर्टिङ गर्न सरकारका कर्मचारी संसद्मा नदेखिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले मन्त्रिपरिषद् बैठकमा जान्न भन्नु राम्रो होइन ।” नेकपा (माओवादी केन्द्र) का जनकराज जोशीले स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन संसद्को जानकारीमा ल्याउन माग गर्नुभयो । सोही पार्टीका श्यामकुमार श्रेष्ठ (काभ्रे) ले पनि सो मागमा समर्थन गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले सनातन हिन्दू धर्मको मान्यता र पालना गर्न सकेमा मात्र राष्ट्रले प्रगति गर्नसक्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सिरियामा अमेरिकाले गरेको आक्रमणको निन्दा गर्दै बलियो देशले कमजोर मुलुकलाई आक्रमण गर्ने यो शैलीले नेपाल सरकारले निन्दा गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगत तीन हप्तादेखि उपप्रधानन्त्रीबीचको मर्यादा विवाद कारण मन्त्रिपरिषद्को बैठक बस्न नसकेको सन्दर्भमा प्रश्न गर्दै यस्तो अवस्था आउनु दुर्भाग्य हो, यसले जनतामा राम्रो सन्देश जाँदैन भन्नुभयो ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले लोकतन्त्रमा शान्तिपूर्ण निर्वाचन हुनुपर्ने भन्दै संविधान संशोधनको प्रस्तावमाथि कहिलेबाट हुने हो भन्नेमा आफूहरुलाई स्पष्ट पारिनुपर्ने बताउनुभयो । रासस       (फाइल फोटो )

 



प्रतिक्रिया दिनुहोस्