Logo

पानीको ट्यांकरमाथि कडाई गर्न मन्त्रीको निर्देशन



काठमाडौं, २८ चैत्र । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले काठमाडौं संचालित खानेपानी ढुवानी गर्न प्रयोग हुने ट्यांकरमाथि निगरानी गर्न निर्देशन दिएका छन् ।

काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीहरुलाई मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।

ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण हुन् नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको भन्दै मन्त्री शाहीले ट्यांकरको पानीको अनिवार्य रुपमा परीक्षण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । मन्त्री शाहीले कतिपय ट्यांकर अनुमित बिनानै संचालन भइरहेको भन्दै त्यसलाई पनि कानूनी दायरमा ल्याउनुपर्नेमा जोड दिए ।

मन्त्री शाहीले भने , “ट्यांकरले ओसार्ने पानीमा अधिकांशले न कुनै अनुमति लिएको देखिन्छ । न त पानीको गुणस्तरको परीक्षण नै हुन्छ । यसरि जथाभावी गर्न दिने हो भने भोलि यो बिकराल समस्याको रुपमा निम्तिने खतरा छ । अहिले ट्यांकरले कुनै खोलाबाट सिधै पानी भरेर जनतालाई वितरण गर्यो भने पनि कसैले केहि गर्दैन । यस्तो अव्यवस्थित र जथाभावी रुपमा चल्न दिनु हुँदैन । निश्चित प्रक्रिया अपनाएर मात्र व्यवसाय गर्न दिनु पर्छ ।”

नियमन गर्ने निकाय कमजोर हुँदा ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर कमसल भएको भन्दै मन्त्री शाहीले अब देखि अनुमति नलिएका ट्यांकरलाई कडाई गर्नुपर्ने बताए । उनले ट्यांकरले उपलब्ध गराउने पानीमा पैसा लिए अनुसारको गुणस्तर हुनुपर्नेमा जोड दिंदै गुणस्तर परीक्षण र मूल्यमा एकरुपता ल्याउन पनि अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गर्न निर्देशन दिए ।

खानेपानी व्यवस्थापन बोर्डले ट्यांकरहरुले अनिवार्य रुपमा अनुमति लिएर मात्र व्यवसाय संचालमा गर्न पाउने व्यवस्था गर्न लागिएको बताएको छ । साथै मन्त्री शाहीको निर्देशनमा पानीका ट्यांकरहरुलाई स्टिकर लगाउने व्यवस्था गर्न पनि लागिएको छ । आगामी वैशाख ५ गते देखि काठमाडौं संचालित खानेपानी बोक्ने ट्यांकरहरुले अनिवार्य रुपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनुमति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने छ । मन्त्री शाहीको निर्देशनमा पानी बोक्ने ट्यांकरहरुमा निलो, पहेलो र हरियो स्टिकर प्रयोगमा ल्याउन लागिएको हो ।

पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर जो सिधै सेवन गर्न सकिन्छ । परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यलाई पहेलो स्टिकर प्रदान गरिने छ ।

पहेलो स्टिकर भएको पानी उमालेर खान मिल्छ । पानीको टेस्ट माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ तर फिजोकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिने तयारी हुँदैछ । हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी खान मिल्दैन । त्यो हात मुख ,धुनका लागि मात्र प्रयोग गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्