Logo

निर्वाचन रोकिदैन : मन्त्री भण्डारी



भक्तपुर, २८ चैत । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वैशाख ३१ गते निर्धारण गरेको स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ ।

पूर्वकर्मचारी सङ्घ तदर्थ समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लोकतन्त्रको कुरा गर्ने कुनै पनि दल निर्वाचनबाट भाग्न नहुने बताउनुभयो ।

सरकार आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न लागिरहेको बताउँदै उहाँले चुनावलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

मुलुक अहिले अप्ठ्यारो र असहज परिस्थितिमा गुज्रिरहेको बताउँदै मन्त्री भण्डारीले सरकारले निर्वाचनमा मधेस केन्द्रित दललाई पनि सहभागी गराउन निरन्तर वार्ता एवम् संवाद जारी राखेको बताउनुभयो ।

संविधान जारी गर्दा एकै ठाउँमा उभिएका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) ले र नेकपा (माओवादी केन्द्र) संविधान कार्यान्वयन र निर्वाचन गर्नसमेत एकै ठाउँमा आउनुपर्नेे उहाँको धारणा थियो ।

विगतका सहमतिभन्दा बाहिर गएर एमाले पछिल्लो समयमा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भइरहेको आरोप लगाउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल मिलेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्