Logo

देउवाको प्रश्न : सीमा कुरेर बस्ने मधेसी कसरी राष्ट्रघाती हुन सक्छन् ?



मधेस र पहाडबीच तिक्तता बढाउने षड्यन्त्रबाट सावधान हुनुपर्छ – काँग्रेस शीर्ष नेता
(सूर्यचन्द्र बस्नेत/नारायण रजौरे) : तुलसीपुर (दाङ), २८ चैत । नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गरी संविधानको पूर्ण कार्यान्वयन गर्न तोकिएकै अवधिमा तीनै तहको निर्वाचन आवश्यक भएको बताउनुभएको छ ।

‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी प्रदेश नं ५ को दाङ तुलसीपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले सानातिना बखेडा झिकेर निर्वाचन बिथोल्न खोज्ने तथा पहाडी र मधेसीबीच तिक्तता बढाउने षड्यन्त्रदेखि सावधान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले राष्ट्रियताको कुरा गर्दा शत्रुता होइन मित्रता, मेलमिलाप र सद्भाव बढाउने काम गर्नुपर्छ भन्नुभयो । नेताहरुले निर्वाचनमा पार्टीबाट विद्रोह गरी बागी उठ्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

चुनावी घोषणपत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेर वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केन्द्रित भएको काँग्रेसले आइतबार कैलालीको धनगढीबाट चुनावी सभा सुरु गरेको भोलिपल्ट आज सोमबार काँग्रेसले दाङमा ५ नं प्रदेशको सभा गरेको हो । पहिलो चरणको चुनावी सभा मङ्गलबार भैरहवामा र बुधबार पोखरामा हुँदैछ ।

आजको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पहाडी र मधेसीबीच झगडा गराएर देशलाई कमजोर पार्ने काम गरेको आरोप लगाउनुभयो ।

“सीमा कुरेर बस्ने मधेसी कसरी राष्ट्रघाती हुन सक्छन्, हामी हिमाल, पहाड, तराई सबै मिलेर बस्नुपर्छ, यो देश महिला, दलित, जनजाति, सीमान्तकृतसहित सबै वर्ग र क्षेत्रको नेपालीको हो”, सभापति देउवाले भन्नुभयो । उहाँले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको र त्यसले मात्र संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गर्न सक्छ भन्नुभयो ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा मेरो तेरो होइन राम्रो र जित्ने मान्छेलाई दिनुपर्छ भन्दै कोही बागी र विद्रोही बने तिनलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो । “पार्टीको उम्मेदवारविरुद्ध अन्तर्घात र विद्रोह गर्नेलाई पार्टीबाट निकालिनेछ, अनुशासनको कडा कारबाही हुन्छ”, नेता देउवाले भन्नुभयो ।

सभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयता, समावेशिता, गणतन्त्रलगायत उपलब्धिलाई संविधानले संस्थागत गरेकाले सानातिना कुरा गरेर मधेसवादी दल अल्झिन नहुने र सद्भाव, मेलमिलाप र एकता खलबलाएर द्वन्द्व निम्त्याउने बाटो एमालेले लिन नहुने बताउनुभयो ।

काँग्रेस किसानको पार्टी र मजदुरको साथी भएको बताउँदै उहाँले भन्नुभयो,“राष्ट्रियताको कुरा गर्दा विभाजन र शत्रुता होइन एकता र मित्रता कायम गरी हिमाल, पहाड, तराईबीच सद्भावनाको बीउ रोपेर काँग्रेस अघि बढ्छ, मधेसका असन्तुष्टिलाई सम्बोधन गर्छ ।”
उहाँले योग्यता, क्षमता, लोकप्रियता र जितेपछि काम गर्न सक्ने व्यक्तिलाई पक्षविपक्ष नभनी निष्पक्ष र न्यायिक ढङ्गले टिकट दिइनुपर्ने बताउँदै उहाँले सबै एकजुट भएर पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

महामन्त्री डा शशाङ्क कोइरालाले जसले पार्टीलाई हराउन खोज्न उसको तत्काल सदस्यता खारेज गरिनेछ भन्नुभयो । उहाँले काँग्रेसको सिद्धान्त, इतिहास र कार्यकर्ता नै यसको शक्ति भएको बताउँदै जनताको घरदैलामा पुगी जनताको मन जितेर काँग्रेसका उम्मेदवारले काम गर्नुपर्छ भन्नुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले मधेसलाई भड्काएर राष्ट्रवाद हुँदैन भन्दै परिवर्तनलाई संस्थागत गर्न सबै वर्ग, जातजाति, क्षेत्र र भूगोलका मानिस एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री दीपक गिरीले काँग्रेस सधैँ दिगो शान्ति र विकासका पक्षमा भएको बताउनुभयो ।

काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, पार्वती डिसी चौधरी, सांसद बुद्धिराम भण्डारी, अनिता देवकोटा, राजु खनाल, सुशीला चौधरी, काँग्रेस बर्दिया सभापति सञ्जय गौतम, बाँके सभापति किरण कोइराला, रोल्पा सभापति अमरसिंह पुन र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरालगायतले संविधान कार्यान्वयन, दिगो शान्ति स्थापना र विकासका लागि आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्