Logo

तमोर जलविद्युत् आयोजना ‘अयोग्य’, ऊर्जा आयातमै भर पर्नुपर्ने



काठमाडौं २९ चैत । वार्षिक करिब १२ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात गर्दै आइरहेको सरकारले ७६६ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनाको स्वाभाविक क्षमता नष्ट गर्दै दुई सय मेगावाटमा सीमित गरेर ‘निर्माण अयोग्य’ चरणमा पुर्याएको छ । आयातीत ऊर्जाले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्र्रभाव बढ्दै गइरहेका बेला सरकारले स्वदेशको जलाशययुक्त जलविद्युत् आयोजनालाई भने उपेक्षा गरेको हो । कुल ७६६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको क्षमता घटाएर दुई सय मेगावाटको अनुमतिपत्र जारी गरिनुका साथै त्यसका आधारमा अध्ययन हुँदा लगानी अयोग्य देखिएपछि दीर्घकालमा ऊर्जा आयातमै भर पर्नुपर्ने भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। चार वर्षअघि विद्युत् विकास विभागले विद्युत् प्राधिकरणलाई दुई सय मेगावाट क्षमतामा तमोरको लाइसेन्स लिएको थियो । तमोर आयोजना प्रमुख प्रेमचन्द गुप्ताका अनुसार तमोरलाई दुई सय मेगावाटमा निर्माण गर्दा तीन वर्षमै जलाशयमा बालुवा र ढुंगाले भरिने हुँदा यो आयोजना काम लाग्दैन ।

‘सञ्चालनमा आएको तीन वर्षभित्रै बालुवाले जलाशय भरिने रहेछ’, गुप्ताले भने, ‘सात सय ६६ मेगावाट गर्ने हो भने यो आयोजना देशका लागि उत्कृष्ट देखिन्छ।’ गुप्ताका अनुसार सात सय ६६ मेगावाटमा यसको लागत एक खर्ब २१ अर्ब पर्नेछ जबकि १२ सय मेगावाटको यस्तै जलाशययुक्त तर उत्पादन हुने ऊर्जा तमोरसरह रहेको बूढीगण्डकीको लागत हालको मूल्यमा दुई खर्ब ५४ अर्ब रुपैयाँ पर्छ । बूढीगण्डकीले वार्षिक ३३ करोड ८३ लाख युनिट र तमोरले ३३ करोड ५४ लाख युनिट उत्पादन गर्ने देखिएको छ ।

प्राधिकरणका अनुसार समान ऊर्जा उत्पादन गर्ने यी दुई आयोजनामा विस्थापन लागत भने उल्लेखनीय फरक छ । बूढीगण्डकीमा १० हजार चार सय ३६ घर विस्थापित हुनेछन् भने तमोरमा जम्मा एक सय २६ घर मात्र पुनर्वास गर्नुपर्ने अध्ययनले देखाएको छ । बूढीगण्डकीमा सामाजिक तथा वातावरणीय खर्च कुल लागतको २५ प्रतिशत पर्ने र तमोरमा जम्मा पाँच प्रतिशत मात्र लाग्नेछ । त्यसैगरी, बूढीगण्डकीमा ३२.६ वर्ग किमी खेतीयोग्य जमिन डुबानमा पर्नेछ भने तमोरमा जम्मा ५.९ वर्ग किमी मात्र डुबानमा पर्नेछ । आयोजना व्यापारिक रूपले लगानीयोग्य हो/होइन भन्ने छुट्याउने वित्तीय संकेत आन्तरिक प्रतिफल दर तमोरमा १७.७३ प्रतिशत र बूढीगण्डकीमा १२.७ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । सरकारले प्राधिकरणलाई दुई सय मेगावाटको मात्र अनुमति दिएकाले यी तथ्यांक र विश्लेषणका आधारमा तमोर लगानी तथा निर्माणका लागि अनुपयुक्त रहेको आयोजना प्रमुख गुप्ताको भनाइ छ । उनले सात सय ६६ मेगावाटमा आयोजना निर्माण गर्ने हो भने समान ऊर्जा उत्पादन गर्ने भएकाले बूढीगण्डकीभन्दा आधा सस्तो पर्ने जानकारी दिए। ‘प्राधिकरणले आयोजनालाई लगानीयोग्य बनाउन क्षमता विस्तारका लागि विद्युत् विकास विभागमा निवेदन दिएको छ’, गुप्ताले भने।



प्रतिक्रिया दिनुहोस्