Logo

उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो



गाईघाट (उदयपुर), २९ चैत । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ ।

राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम सङ्कलन र छनोट गर्न थालेसँगै अहिले जिल्लाको चार नगरपालिकामा चुनावी सरगर्मी बढेको हो ।

त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले भर्खरै मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । नेका उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको सम्भावित मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष वसन्त बस्नेत, पार्टी त्रियुगा नगर अध्यक्ष सरोज बस्नेत, पूर्व पार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिव भीमचन्द्र राईको नाम छनोट भएको नेका उदयपुरले बताएको छ ।

यस्तै, उपमेयरमा नेकाले महिला सङ्घका जिल्ला अध्यक्ष लीलाकुमारी राई, पार्टी जिल्ला समितिका सदस्य विमला राई, महासमितिका सदस्य तारा कुमारी राई, पार्टी सदस्य सुनिता चौधरी र सरिता राई (दाहाल) को नाम छनोट गरेको छ ।

नेकपा एमालेले मेयरका लागि पार्टी जिल्ला सचिवालय सदस्य भागवत राउत, अर्का सचिवालय सदस्य प्रकाश बस्नेतको नाम मेयरको लागि छनोट गरेको छ भने उपमेयरको लागि पार्टी जिल्ला सदस्य महेश्वरी राई, सदस्य श्रृजना दनुवार र फूलकुमारी चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, माओवादी केन्द्रले त्रियुगा नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला सदस्य किरण राई, नारायण बुर्जा र मीनबहादुर ठकुरीको नाम छनोट गरेको छ । उपमेयरको लागि पार्टी जिल्ला सदस्य राधा खड्का, अजिता खड्का र सरिता कार्कीको नाम छनोट गरेको माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यता, कटारी नगरपालिकामा नेकाले मेयरका लागि जिल्ला पार्टी सचिव रामकुमार राई, जिल्ला पार्टी कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्र राउतको नाम छनोट गरेको छ ।

एमालेले भने मेयरको लागि महिला जिल्ला सदस्य भीमकुमारी राउत, कृष्ण थापा र ज्ञानेन्द्रबहादुर कार्कीको नाम छनोट गरेको छ ।

नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल, पार्टीका केन्द्रीय सदस्य केपी बराल र कुमारसिंह राईको नाम छनोट गरेको छ । उपमेयरमा मीना कोइराला र मीना कार्की छानिएका छन् ।

चौदण्डी गढी नगरपालिकामा मेयरका लागि नेकाले जिल्ला सदस्य प्रशान्त राई, खगेन्द्र राई, प्रदीप केसी र वसन्त कटुवालको नाम छनोट गरेको छ ।

यस्तै एमालेले मेयरमा जिल्ला पार्टी सचिवालय सदस्य कालु लामा र राजेन्द्र कटुवालको नाम छनोट गरेको कुरा पार्टी स्रोतले बताएको छ ।

यता माओवादी केन्द्रले मेयरमा जिल्ला पूर्व पार्टी अध्यक्ष राजन किराँती, जिल्ला सदस्य सन्तोष सुवेदी र प्रकाश राईको नाम छनोट गरेको छ ।

यस्तै बेलका नगरपालिकामा नेकाले मेयरमा पार्टी महासमिति सदस्य बद्री सापकोटा, जय सुवेदी, लवराज अधिकारी र दिनेश चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, एमालेबाट जिल्ला सचिवालय सदस्य दुर्गाकुमार थापा र गणेश बस्नेत छानिएका छन् भने माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य रमण भट्टराई, मनोज तामाङ छनोटमा परेका छन् ।

६३८ म्यादी प्रहरी छनोट

उदयपुर जिल्लामा करिब तीन हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा ६३८ जना मात्र छनोटमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आवेदन दिएकामध्ये ६३८ जनामात्र छनोट भएको र उनीहरुलाई आइतबारदेखि म्यादी प्रहरी भर्नासँगै तालिममा पनि सहभागी गराइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्