Logo

नयाँ संशोधन विद्येयक पूरानोभन्दापनि खतरानक छ : महासेठ



काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले अहिले सरकारले ल्याएको नयाँ संशोधन विद्येयक हिजोको भन्दापनि बढि खतरानक रहेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने,‘अघिल्लो संशोधन प्रस्तावभन्दापनि यो अहिले ल्याईएको नयाँ संशोधन प्रस्ताव खतरानक छ, राष्ट्रियताको हिसावले पनि यो खतरानक देखिएको छ, किनकी यसले संविधानको धारा २७४ लाई चलाएर आएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नयाँ संशोधनमा के/के खतरा छ त भन्ने पत्रकारको जिज्ञासमा भने,‘निर्वाचन मण्डलबाट प्रमुख तथा उपप्रमुखलाई हटाउने भनिएको छ, यो कस्तो हो भने डराउने कुरा हो ? उहाँहरु किन डराउनुभएको हो, मैले त बुझ्न सकेको छैन, सबै ठाउँमा एमालेले जित्दैन होला, जसको जहाँ लोकप्रियता छ, त्यसले त्यही विजयी हाँसिल गर्ने हो नि।’

उनले यो प्रस्ताव आफ्नो पार्टीसँग सहमति नगरीकन ल्याईएको समेत दाबी गरे । उनले भने,‘भन्नको लागि त यो प्रस्ताव हाम्रो पार्टीसँगको सहमतिमा ल्याईएको हो भनेर सरकारले प्रचार गर्यो, तर सहमति भएको छैन, यो सरासर झुठो हो ।’

उनले संविधानको धारा २७४ लाई आफ्नो पार्टीले कुनैपनि हालतमा चलाउन नदिने समेत उद्धघोष गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्दापनि मधेशी मोर्चाले दिनहुँ कुरा फेरेको आरोप लगाए । यद्धपी उनले मोर्चालाई चुनावमा सहभागी गराउनको लागि मतदाता नामावली सच्याउनको लागि केही दिन कुर्न भने सकिने स्पष्ट पारे ।

त्यस्तै उनले प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का ११ वटा जिल्लामा गाउँपालिका तथा नगरपालिकामा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने कुरा पनि आपत्तिजनक रहेको टिप्पणी गरे । उनले भने,‘यो दुई वटा प्रदेशका ११ वटा जिल्लाको मात्रै किन ? बढाउने भए ७५ वटै जिल्लामा हुनुपर्छ नि ।’ उनले जनसंख्यालाई मात्रै आत्मसात् गर्न नहुने बताउँदै भूगोललाई पनि छोड्न नहुने धारणा राखे ।

महासेठले आफ्नो पार्टी मुुलुकको निकासको विरोधी नभएको समेत जिकिर गरे । उनले थपे,‘मुलुकको निकासको लागि सकारात्मक कुरा आयो भने एमालेले रचनात्मक भूमिका खेल्छ, राष्ट्रियतासँग जोडिएको संविधानको धारा २७४ सँग खेलबाड गर्न पाईँदैन् ।’ उनले हाम्रो देश कसले चलाएको छ भनेर समेत प्रश्न गरे ।

संविधान संशोधन प्रस्ताव ल्याउँदा तपाईको पार्टीका अध्यक्षसँग सरकारले सहमति गरिसक्यो नि भन्ने अर्को प्रश्नमा उनले भने,‘अब यो कुरा पार्टीलाई थाहा छैन, पार्टीलाई थाहा नभएपछि आधिकारिकता त भएन नि ।’

त्यस्तै उनले उपप्रधानमन्त्री विमलेन्द्र निधिप्रति लक्षित गर्दै मन्त्रिपरिषद बैठकमा नजाने मन्त्रीले राजिनामा दिनुपर्ने माँग गरे ।



प्रतिक्रिया दिनुहोस्