Logo

बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसमा बम विस्फोट, 



काठमाडौँ, ३० चैत । जर्मन फुटबल क्लब बोरुसिया डर्टमुण्डका खेलाडी चढेको बसलाई लक्षित गरी तीनवटा बम विस्फोट भएको छ ।

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेगका लागि खेलाडी लिएर गएको बोरुसियाको बसलाई लक्षित गरी बम विस्फोट भएको जर्मनीका कानुनी अधिकारीले बताएका छन् ।

पत्रकार सम्मेलनमा टिमको बसमा लक्षित गरी आक्रमण भएको डर्टमुण्डका प्रहरीले बताएका छन् । विस्फोटमा परि डर्टमुण्डका खेलाडी मार्क बाट्र्राको हातमा चोट लागेको छ । उनको नाडीको हड्डी भाँचिएकाले शल्यक्रिया गरिएको छ ।

अरु कोही खेलाडी घाइते नभएको क्लबले जनाएको छ । घरेलु मैदानमा हुने पहिलो लेगका लागि खेलाडी लिएर गएको बसमा विस्फोट भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको डर्टमुण्डका अधिकारीले बताएका छन् ।

विस्फोटपछि स्थगित गरिएको खेल बुधबार राति साढे १० बजे हुने भएको छ । विस्फोटनका कारण खेलाडी चढेको बसमा क्षति पुगेको छ । नेपाली समय अनुसार मंगलबार राति सवा १० बजे तिर विस्फोट भएको हो ।

घटनापछि टिमका सबै खेलाडी तथा पदाधिकारी तर्सिएको अवस्थामा रहेको डर्टमुण्डका सिइओ हान्स जोएचिम वाट्जकेले बताएका छन् । घटनापछि सामाजिक सञ्जालमा डर्टमुण्डको समर्थनमा धेरै मानिसले विभिन्न सामग्री पोष्ट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्