Logo

उद्यमी–व्यवसायीको नेतृत्वमा पहिलोपटक महिला



उद्यमी भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको १९औँ अध्यक्ष बनेकी छिन् । महासंघको संशोधित विधानअनुसार उनी वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेकी हुन् । राणाले बुधबार आफ्नो पदभार सम्हालेकी छिन् ।

महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रमबीच अध्यक्ष पशुपति मुरारकाले राणालाई महासंघको लोगो दिएर पद हस्तान्तरण गरे । नवनिर्वाचत अध्यक्ष राणाले निवर्तमान अध्यक्ष मुरारकाबाट पद तथा गोपनीयताको शपथ पनि लिइन् । महासंघ स्थापनाको ५१ वर्षमा राणा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् । उनी महिला उद्यमी महासंघमा पनि अध्यक्ष छिन् । मनोनीत सदस्य, निर्वाचित सदस्य, समिति सभापति, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी महासंघको नेतृत्वमा पुगेकी हुन् । पदभार गरेपछि उनले संक्षिप्त सम्बोधन गर्दै सहमतिका साथ सबैलाई एकबद्ध बनाएर आफ्नो तीनवर्षे यात्रा प्रारम्भ गर्न चाहेको बताइन् ।

महासंघ ५१औँ वार्षिक साधारणसभाबाट १८औँ कार्यकारिणी समितिका निर्वाचित वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूले बुधबार नै पदभार गरेका छन् । अध्यक्ष राणाले सबै पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइन् । उनले सबैलाई समूहमा मिलेर काम गर्न आग्रह पनि गरिन् ।

राणाका २० बुँदे कार्ययोजना
नवनिर्वाचित अध्यक्ष राणाले आफ्नो तीनवर्षे कार्यकालमा गर्ने कामको २० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छिन् । यस्तो छ उनको कार्ययोजना :
१. निवर्तमान अध्यक्ष पशुपति मुरारकाका कार्ययोजनालाई निरन्तरता
२. अन्तर्राष्ट्रिय दातासँगको साझेदारीमा दक्ष युवा जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा प्राविधिक शिक्षालय खोल्ने
३. महासंघमा विज्ञ समूह (थिंक ट्यांक) राख्ने
४. नेपाल–भारत व्यापारलाई सरलीकृत गर्न सीमावर्ती सहरमा दुईपक्षीय छलफल तथा लगानी सम्मेलन गर्ने
५ सरकारी–निजी साझेदारीलाई बढोत्तरी दिने
६. आर्थिक विकासका लागि संसद्को संकल्प लिनलाई प्रयास गर्ने
७. प्रादेशिक संरचनामा गइसकेपछि पनि जिल्ला-नगर उवासंघको सशक्तीकरणलाई जोड दिने
८. कच्चा पदार्थमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्न तथा उत्पादनलाई आधुनिकीकरण बनाउन प्रयत्न गर्ने
९. जलविद्युत्को विकास तथा प्रवद्र्धनमा सरकारसँग साझेदारी
१०. भूउपयोग नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाब तथा दबाब दिने
११. सात प्रदेशमा सातवटा स्मार्ट सिटीका लागि सरकारसँग साझेदारी गर्ने
१२. महासंघमा अनुसन्धान तथा विकास (आर एन्ड डी) केन्द्र स्थापना गर्ने
१३. करका समस्या समाधानमा जोड दिने
१४. पिपिपी मोडलमा मास ट्रान्सपोटेसन सञ्चालनका लागि सरकारसँग साझेदारी
१५. परियोजनामा आधारित कर्जा प्रवाहका लागि राष्ट्र बैंकसँग सहकार्य गर्ने
१६. पुँजीगत खर्च बढाउन दबाब दिने । निर्माणको वार्षिक क्यालेन्डर बनाउन सरकारलाई सघाउने
१७. दिगो पर्यटक विकासलाई जोड दिने
१८. महिला उद्यमशीलता विकासका विशेष कार्यक्रम चलाउने
१९. महासंघको अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार र बलियो बनाउने
२०. महासंघ सचिवालयलाई चुस्त र प्रभावकारी बनाउने

यी हुन् भवानी राणा

मनमोहन मिश्र तथा शोभा मिश्रकी कान्छी छोरीकी रूपमा ०२६ मा जन्मिएकी रणाले सेन्ट मेरिज स्कुल काठमाडौंबाट विद्यालय शिक्षा पूरा गरेकी थिइन् । त्यसपछि भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी राणाले फेसन डिजाइनिङ कोर्स पनि पूरा गरेकी छिन् । उनले सन् १९८५ तिर काठमाडौंमा गार्मेन्ट उद्योगमा समेत लगानी गरेकी थिइन् । तर, त्यसले सफलता हात पारेन । त्यसपछि उनले ०४६ देखि करिब पाँच वर्ष अमेरिकी दूतावासमा काम गरिन् । राणाको विवाह भने नेपालगन्जको राणा परिवारमा भएको हो । उनका पति असितशमशेर राणा स्नेहा होटेलका सञ्चालक हुन् । नेपालगन्जस्थित स्नेहा होटेल प्रालिकी सञ्चालिका राणा ०६४ चैतमा महासंघको कार्यकारिणी सदस्य भई महासंघमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी ०६७ चैतमा महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएकी थिइन् । उनले महासंघको कृषि उद्यम केन्द्रको सभापति भएरसमेत काम गरिन् । महासंघ प्रवेशको तेस्रो कार्यकालमा जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित राणा १८ असार ०७२ मा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन् । त्यसको २१ महिनापछि उनी स्वतः अध्यक्ष बनेकी हुन् । महिला उद्यमी महासंघकी अध्यक्षसमेत रहेकी राणा लगानी बोर्ड नेपालकी सदस्य पनि हुन् । उनको कृषि, पर्यटन र होटेल व्यवसायमा लगानी छ ।

भाग्यले होइन, कर्मले भवानी
महासंघ प्रवेश गरेको एक दशकमै भवानी राणा अध्यक्ष बन्न सफल भइन् । छोटो समयमै निजी क्षेत्रको छाता संगठनको अध्यक्ष बन्नुमा उनलाई भाग्यले साथ दिएको धेरैजसोको भनाइ छ । तर, राणा भने यसलाई अस्वीकार गर्छिन् । ‘म भाग्यले भन्दा पनि कर्मले नै अहिलेकी भवानी बनेकी हुँ,’ नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनिन्, ‘मैले धेरै मिहिनेत गरेँ र मलाई मेरो परिवार, उद्योगी व्यवसायी तथा महासंघका अग्रजले साथ दिए र यहाँसम्म आइपुगेँ ।’ आफू महासंघ इतिहासमै पहिलोपटक निर्वाचित महिला सदस्य तथा उपाध्यक्ष भएको बताउँदै उनले भाग्यले मात्रै कोही सफल हुन नसक्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्