Logo

राष्ट्रपतिदेखि निजी क्षेत्रको सर्वोच्च पदमा महिला 



काठमाडौं ३१ चैत ।राष्ट्रपति विद्यादेवी भण्डारी एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति नियुक्त भएकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा नेपालको प्रथम महिला राष्ट्रपति हुन् । एमालेका तत्कालीन नेता मदनकुमार भण्डारीकी धर्मपत्नी भण्डारी यसअघि रक्षामन्त्रीसमेत भइसकेकी छिन् । उनी राष्ट्रपति हुनुअघि एमालेको समानुपातिक सूचीबाट सांसदमा निर्वाचित भएकी थिइन् ।

सभामुख ओनसरी घर्ती
ओनसरी घर्ती २९ असोज २०७२ मा सभामुखमा निर्वाचित भएकी हुन् । उनी नेपालको पहिलो महिला सभामुख हुन् । माओवादी नेतृसमेत रहेकी उनको पक्षमा तत्कालीन विपक्षी दल कांग्रेसले पनि समर्थन गरेको थियो । रोल्पा जंकोट १ माडीचौरकी स्थायी बासिन्दा रहेकी उनी दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

प्रधानन्यायाधीश सुशीला कार्की
सुशीला कार्कीलाई गत वर्ष २४ चैतमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । उनले २७ असारमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेकी हुन् । उनी २ मंसिर ०६७ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी हुन् ।

महासंघ अध्यक्ष भवानी राणा
उद्यमी भवानी राणाले बुधबारदेखि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेकी छिन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेकी राणा महासंघको संशोधित विधानअनुसार स्वतः अध्यक्ष बनेकी हुन् । सरकारपछि सबैभन्दा बढी सञ्जाल भएको निजी क्षेत्रको एक मात्र संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदलाई शक्तिशाली मानिन्छ । नेपालगन्जस्थित स्नेहा होटेल प्रालिकी सञ्चालक राणा २०६४ चैतमा महासंघको कार्यकारिणी सदस्य भई महासंघमा प्रवेश गरेकी थिइन् । ०६७ चैतमा महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित राणा तेस्रो कार्यकालमा जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित भइन् । १८ असार ०७२ मा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित राणा त्यसको २१ महिनापछि स्वतः अध्यक्ष बनेकी हुन् । नयाँपत्रिकाबाट

सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
भवानी राणाजीलाई बधाई दिन चाहन्छु । नेपालको राष्टप्रमुख, प्रधान न्यायाधीश र सभामुखजस्ता महत्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरूको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गर्दछ । (महासंघको ५१औँ साधारणसभालाई सम्बोधनको अंश)



प्रतिक्रिया दिनुहोस्