Logo

राजनीतिक स्थिरतको लागि एक भएर अघि बढ्नुपर्ने : ओली



काठमाडौं, ३१ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढ्न आव्हान गरेका छन् ।

स्वास्थ्य परीक्षणका लागि बैंकमा रहेका ओलीले नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्तो आह्वान गरेका हुन् । ओलीले निर्वाचनमा सहभागि भएर आफ्ना गुनासाहरुको सम्बोधन गर्न आव्हान गरेका हुन् ।

त्यस्तै उनले निर्वाचनबाटै आफ्ना गुनासा र असन्तुष्टिहरुको सम्बोधन हुने जनाउँदै असन्तुष्ट दलहरुलाई स्थानीय तहको चुनावमा भाग लिन आग्रह समेत गरेका छन् ।

ओलीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो, नयाँ बर्षको सुखद उपलक्ष्यमा वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहनु भएका साथीहरुलाई पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछु ।’

ओलीले बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफूले चुनेका प्रतिनिधिहरुका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीब्रता दिन पनि अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्