Logo

आर्थिक समृद्धिको लागि पनि चुनाव अपरिहार्य : अध्यक्ष राणा



काठमाडौं, ३१ चैत । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकीछिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले महासंघको नयाँ नेतृत्वलाई सामूहिक बधाई तथा सफलताको शुभकामना दिन आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताएकी हुन् । उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने समेत स्पष्ट पारिन् ।

राणाले आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको लागि विशेष योजनासहित काम गर्ने बताउँदै भनिन्‘मुलुकले विकाससँगै यतिवेला समृद्धि चाहेको छ, विकासको विकल्प छैन, मेरो नेतृत्वको महासंघले सरकारसँगको सहकार्यमा आर्थिक समृद्धिका कामहरुलाई अघि बढाउँछौं ।’

उनले मुलुकमा रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि पनि महासंघले काम गर्ने बतााईन् । राणाले युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि महासंघले देशको ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने समेत योजना सुनाईन् । त्यस्तै उनले महासंघका अघिल्ला नेतृत्वहरुले अघि सारेका नीति तथा कार्यक्रमहरुलाई समेत आफूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै उनले सम्बन्धित मन्त्रालयसँगको समन्वय तथा सहकार्यमा देशका विभिन्न ठाउँहरुमा स्मार्ट सिटी बनाउने प्रतिबद्धतता व्यक्त गरिन् । राणाले हरेक दुई देखि तीन महिनाको अवधिमा मिडियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर सल्लाह÷सुझाव लिने समेत आफूहरुको योजना रहेको जानकारी दिईन् ।

महासंघ जस्तो गरिमामय संस्थाको अध्यक्ष हुन पाएकोमा आफू उत्साहित भएसँगै थप जिम्मेवारी समेत बोध भएको उनको भनाई थियो । उनले भनिन्,‘सबैको साथ र सहयोगले नै हाम्रो कार्यकाल सफल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्