Logo

स्थानीय तहमा महिला सुनिश्चिताबारे राष्ट्रपतिबाट विचारविमर्श



काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा महिलाको सुनिश्चित विजय सम्बन्धमा आज विभिन्न राजनीतिक दलका नेत्री तथा अन्तरपार्टी महिला सञ्जाल र महिला सुरक्षा दबाब समूहका प्रतिनिधिसँग राष्ट्रपति भवन, शीतलनिवासमा भेटेर विचारविमर्श गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहमा महिलाको प्रतिनिधित्वबारे रहेको संवैधानिक प्रावधान महिला समानताका लागि एक ठूलो उपलब्धि रहेको र आउँदो निर्वाचनमा पनि सो उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिँदै सबैलाईसफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाललगायत राजनीतिक दलका महिला प्रतिनिधिले स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्वबारे संविधानले गरेको व्यवस्थालाई परिणाममुखी बनाउन केही कानुनी व्यवधान र व्यावहारिक कठिनाइ रहेकोबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्