Logo

मानव बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा



काठमाडौं १ बैशाख । गाउँमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी सिन्धुपाल्चोक कर्थली–३ की ४५ वर्षीया सीता भट्टराई (परिवर्तित नाम) लाई गाउँकै नेकोर मगरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने प्रस्ताव राखे । छोरीको विवाहको ऋणसमेत तिर्न नसकेकी र घरको सबै जिम्मेवारी आफैं वहन गर्दै आएकी सीताले उनको प्रस्ताव खुसीसाथ स्विकारिन् ।

सीताले प्रस्ताव स्विकारेपछि राहदानी बनाई कुवेत उडाउने जिम्मा मगरले लिए । उनलाई भारत पुर्‍याउने र त्यहाँबाट कुवेत उडाउने कामको जिम्मा सर्लाही घर भई काठमाडौं बस्ने तुलबहादुर दवाडी (सीताराम दवाडी भनेर चिनिने) र सूर्यबहादुर दवाडी (राजु दवाडी भनेर चिनिने) ले लिए ।

त्यसपछि गत २६ फागुनमा उनलाई रूपन्देहीको बेलहिया हुँदै भारत लगिँदै थियो । तर, महिला हिंसा तथा चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालले उनलाई रोक्यो ।

अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जान लागेको खुलेपछि पीडितकै जाहेरीका आधारमा तुलबहादुर र सूर्यबहादुरविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भयो ।

फिक्कल–८ इलामकी मीराकुमारी राई (परिवर्तित नाम) को पनि त्यसैगरी, भारत हुँदै कुवेत जान लाग्दा बेलहियाबाट उद्धार भयो । बेलहिया नाका हुँदै भारत जाने र भारतबाट अवैध रूपमा तेस्रो मुलुक जाना लागेका यी दुई उदाहरण हुन्, जसको उद्धार भएको छ ।

केआई नेपालकै तथ्यांक हेर्दा अवैध बाटो हुँदै वैदेशिक रोजगारीका नाममा भारत जान लागेका ५४ जनालाई जनवरी, फेबु्रअरी र मार्च महिनामा उद्धार गरिएको छ ।

तर, विभिन्न बहाना गर्दै भारत जाने युवती तथा महिलाहरूको संख्या भने योभन्दा बढी छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविन विष्टले भिजिट भिसामा खाडी मुलुकमा जान सरकारले प्रतिबन्ध लगाएपछि दलालहरूले स्थलमार्ग हुँदै भारत लगी त्यहाँबाट खाडी मुलुक पठाउने गरेको बताए ।

दलालसँग आउँदा पक्राउ परिने र भारत छिर्न अप्ठ्यारो पर्न थालेपछि पछिल्ला दिनमा दलालहरूले युवती तथा महिलाहरूलाई भारत छिराउने तरिकासमेत फेरेका छन् ।

‘सीमा पार गराउनका लागि पीडितका बाबुआमा, दाजुभाइलगायतका आफन्तहरू नै सीमासम्म आउन थालेको पाइएको उनले बताए । केआई नेपाल रूपन्देहीकी संयोजक उषा गुरुङका अनुसार आफ्नो छोरी या बहिनी भारत हुँदै तेस्रो मुलुक जान लागेको भए पनि बाबुआमा या सँगै आएका दाजुभाइले आफन्त भारतमा रहेको र भारत जान लागेको भनेर जिद्दी गर्छन् ।

‘दलालको लोभ र भरोसामा परेका उनीहरूले दलालले अह्राएको कुरा गर्दै भारत नै जान लागेको भनेर ढिपी छाड्दैनन्,’ उनले भनिन्, ‘तर लामो समयसम्म सोधपुछ र परामर्श दिएपछि मात्र यथार्थ खुल्छ ।’

भारत जान लागेका आफ्ना चेलीहरूलाई सीमा पार गराउन दैनिकजसो चार÷पाँचजना नै आउने गरेको उनले बताइन् ।

भारतीय बजार सुनौलीमा किनमेल गर्न जान लागेको तथा भारतमा आफ्न्त भेट्न जान लागेको, आफूहरू श्रीमान्श्री-मती भएको भन्दै दलालको प्रलोभवनमा परी भारत जानेमाथि कडाइ हुन थालेपछि पछिल्लो समय आफन्तहरू नै नाता प्रमाणित भएको कागजात लिएर आफ्नै चेलीबेटीलाई अवैध बाटो हुँदै खाडी मुलुक तथा भारत पु¥याउन सीमामै आउन थालेका हुन् भने दलालहरूले सीमा पार गराउने नयाँ जुक्ति निकाल्दै आफन्तलाई नै प्रयोग गर्न थालेका हुन् ।

गैरकानुनी रूपमा भारत हुँदै खाडीलगायतका मुलुकमा प्रवेश गर्न नपाउने भन्ने उद्देश्यले सीमा क्षेत्रमा रहेका गैरसरकारी संस्थाहरूसँग समेत समन्वय गरी चेकजाँच तथा परामर्शमा कडाइ गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।

विनाशकारी महाभूकम्पपछि तहसनहस भएका गोर्खा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाहरूका किशोरकिशोरी तथा महिलाहरूलाई टार्गेटमा राखेर काम गरिरहेका दलालहरू अहिले पनि तिनै जिल्लाहरूलाई मुख्य टार्गेट बनाएका छन् ।

पछिल्लो तीन महिनामा बेलहियामा परामर्श दिइएका ७ सय ३३ तथा घर फिर्ता गरिएका ५४ र तालिम केन्द्र पठाइएका दुईजना मध्ये अधिकांश भूकम्प प्रभावित जिल्लाका किशोरी तथा महिला रहेको संयोजक गुरुङले बताइन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित मुलुकहरूमा लैजान नपाएपछि दलालहरूले भारतको दिल्लीबाट उडाउने गरेका छन् ।

यसरी, वैदेशिक रोजगारमा जाने किशोरी तथा महिलाहरू देहव्यापार लगाउने, उनीहरूका अंग झिक्नेजस्ता समस्यामा पर्दै आएका छन् ।
-राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्