Logo

श्रीपुरका अग्निपीडितलाई राहत वितरण



इनरुवा, १ वैशाख । कोसी गाउँपालिका–५ स्थित साविक श्रीपुरजब्दी–७ मा बिहीबार भएको आगलागीका पीडितलाई कोसी गाउँपालिकाको कार्यालयले राहत वितरण गरेको छ ।

कार्यालयले बिहीबार साँझ एक कार्यक्रमको आयोजना गरी आगलागीबाट उठिबास बनेका परिवारलाई राहत वितरण गरेको हो ।

कार्यालयका तर्फबाट तत्काल प्रत्येक परिवारलाई २५ केजी चामल, एक कार्टुन चाउचाउ, एक केजी दाल र एक केजी नुन वितरण गरिएको गाउँपालिकाका खरिदार देवनारायण लहौटियाले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी, सुनसरीले समेत अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।

सोसाइटीले प्रत्येक परिवारलाई एउटा त्रिपाल, खाना पकाउने भाँडावर्तन, लत्ताकपडालगायतका सामग्री वितरण गरेको सोसाइटीका सुनसरी उपकोषाध्यक्ष विष्णु मण्डलले जानकारी दिनुभयो ।

बिहीबार भएको आगलागीबाट ४३ परिवारका ६० वटा घर जलेर नष्ट भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्