Logo

मधेशी मोर्चाले भाग नलिँदापनि बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुन्छ : कमल थापा



‘मोर्चाकै सहमतिमा संशोधन प्रस्ताव दर्ता भएको हो’

काठमाडौं, १ बैशाख । उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउनेमा सरकार पुगेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भने,‘मोर्चाको माँग सम्बोधन गर्नको लागि हामीले उनीहरुसँगको सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौं, तर उनीहरुले त्यसलाई अस्विकार गरेर गम्भिर भूल गरेको छ, अझैपनि मोर्चाले पनि आफ्नो निर्णय पूर्नविचार गनुपर्छ, हाम्रो आग्रह यही हो ।’

उनले आज विहानमात्रै पनि सत्तारुढ प्रमुख तीन घटकवीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको उल्लेख गर्दै मोर्चालाईपनि चुनावमा सँगै लिएर जान अन्तिम समयसम्मपनि पहल गर्ने र यसको लागि वार्ता र सम्वादलाई कायम राख्ने निर्णय भएको स्पष्ट पारे ।

राप्रपा अध्यक्ष समेत रहेका मन्त्री थापाले भने,‘मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआएपनि निर्वाचन कुनै पनि पनि हालतमा रोक्दैनौं, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपावीच सहमति भएको छ ।’ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाबाट आफू उपस्थित् रहेको थापाले जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै थापाले चुनाव प्रजातन्त्रको आत्मा भएकोले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुन सबैलाई आग्रह गरे । उनले चुनावमा सबैको सहभागिता होस् भनेर नै वर्तमान सरकारले अथाह प्रयास गरिरहेको जिकिर गरे ।

उनले आन्दोलनरत मधेशी मोर्चालाईपनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले नै मोर्चाको सहमतिमा नयाँ संशोधन विद्येयक सरकारले ल्याएको दाबी गर्दै भने,‘सरकारले मोर्चासँगको सहमतिमा नै नयाँ संशोधन विद्येयक ल्याएको हो, उहाँहरुसँग ५ बुँदे सहमति भएको हो, त्यही आधारमा हामीले विद्येयक अघि बढाएका थियौं, तर उहाँहरुले विद्येयक अस्विकार गर्ने निर्णय गर्नुभयो, मोर्चाको निर्णय अप्रत्यासित र अनपेक्षित छ ।’

उनले मोर्चाका नेताहरुसँग आफू पनि वार्ता तथा छलफलमा संलग्न रहेको खुलासा गरे । उनले भने,‘लामो समयसम्मको वार्ता र सहमतिको आधारमा सरकारले नयाँ विद्येयक प्रस्तुत गरेको हो, मोर्चाका नेताहरुसँग ५ सूत्रीय भद्र सहमति भएको हो, पूरानो विद्येयकबाट सिमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सिमांकनलाई संघीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति भएको हो ।’

‘प्रस्तावको समर्थन गरेको भए, सरकारसँग दुई तिहाई पुग्ने आधार थियो’

मन्त्री थापाले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकमा मोर्चाले सहमति जनाएको भए प्रस्ताव दुई तिहाईले पारित गराउने आधार सरकारसँग रहेको स्पष्ट पारे । उनले अहिलेपनि सरकार र आफ्नो पार्टीको तर्फबाट मोर्चालाई उक्त विद्येयक अस्विकार गर्ने निर्णयमा पूर्नविचार गर्न आग्रह गरे । उनले भने,‘मैले उहाँहरुसँग अहिलेपनि वार्ता तथा सम्वाद गरिरहेको छु, मलाई विश्वास छ, उहाँहरु फेरि वार्तामा आउनुहुनेछ, सहमतिमा आउनुहुन्छ ।’

उनले मोर्चाले निर्वाचन बहिष्कार गर्नेजस्तो कडा निर्णय गर्न नहुने थियो भन्दै अहिलेपनि मोर्चाका नेताहरुसँग सम्पर्क तथा सम्वाद जारी गरेको जनाए । उनले भने,‘हाम्रो विशेषता भनेको नै यही हो, हामीवीच जति जे जे भएपनि वार्ता तथा सम्वाद जारी रहन्छ ।’

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले तालमेल गर्ने बताउँदै भने,‘तालमेल हुन्छ, राप्रपाले चुनावलाई उच्च प्राथमिकता दिएको छ, हामीले चुनावको तयारी युद्धस्तरमा गरिसकेका छौं, उम्मेद्धवार छनौट अन्तिम चरणमा पुगेको छ, चुनावलाई लिएर एमाले, काँग्रेस र माओवादी केन्द्रसँग कुराकानी भैरहेको छ।’

उनले चुनावलाई लिएर जिल्लामा जुन दलसँगपनि तालमेल हुन सक्ने स्पष्ट पारे । यद्धपी उनले चुनाव जित्ने तालमेल हुने तर सैद्धान्तिक तालमेल भने नहुने बताए । उनले पार्टीले तालमेलको लागि खुल्ला अधिकार प्रत्यायोजन गरेको जानकारी दिए ।

चुनावलाई लक्षित गर्दै पार्टीले बैशाख २ गतेदेखि ८ गतेसम्म चुनावी आमसभा गर्न लागेको समेत थापाले जानकारी दिए । उनका अनुसार २ गते बर्दियामा, ३ गते टिकापुर, ४ गते कञ्चनपुर, ५ गते तुलसीपुर, ६ गते भरतपुर, ७ गते हेटौंडा र ९ गते दमकमा आमसभा हुनेछ ।

त्यस्तै उनले राप्रपाको विधान र प्रस्तावनामा उल्लेख भएका सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र शब्द निर्वाचन आयोगले एकपक्षीय ढंगले हटाउने निर्णयको विरुद्धमा पार्टीले यसअघि पनि विरोध तथा धर्नाको कार्यक्रम गरिसकेकोले उल्लेख गर्दै ५ गतेसम्म निर्णय पूर्नविचारको लागि संस्मरणपत्र बुझाउने जानकारी दिए ।

आयोगले निर्णय पूर्नविचार नगरे बैशाख ५ गते ७४४ गाउँपालिका तथा नगरपालिकामा निर्वाचन आयोगको उक्त निर्णयको प्रतिलिपि जलाउने, त्यस्तै ८ गते ७५ जिल्लाको सदरमुकाममा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको थापाले बताए ।

त्यस्तै उनले दलहरुलाई निर्वाचन चिन्ह दिनुपर्ने बताए । उनले भने,‘बाबुराम भट्टराईजीले आँखा चिन्ह माँग्नुभएको छ भने दिए भैगयो नि, अरु नयाँ पार्टीहरु पनि छन्, उनीहरुलाई पनि दिए हुन्छ, कानूनी रुपमा बाधा अड्चन भए व्यवहारिक रुपमा दिए भैगयो नि ।’



प्रतिक्रिया दिनुहोस्