Logo

हिमाँचल ट्रेकिङ गएका पाँच नेपालीको कारुणिक वृत्तान्त: चिसोले आँखैअगाडि दुई साथी गुमे



काठमाडौं २ बैशाख ।  साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन् । रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्‍यो । प्राकृतिक सुन्दरता, मनमोहक दृश्यावलोकन सँगै हिउँको मज्जा लिँदै रमाइलो गर्न हिडेका उनीहरुको एडभेन्चर जिन्दगीभरका लागि नमिठो संझनामा परिणत भयो । दुइ साथीलाइ गुमाउनुको पिडासँगै उनीहरुलाइ आफूले पाएको पूनर्जीवनको वास्तविकता पत्याउनै गाह्रो भइरहेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

हिमाँचलको मणिकरण घाटीमा पर्ने रसौल–मलाना ट्रयाकमा हिडेका यी विद्यार्थीहरु रसौलटप भन्ने स्थानमा फँसेका थिए । पानी परेर चिसो भएको मौसममा हिमपात समेत भएपछि उनीहरु हराएका थिए । त्यसै क्रममा जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै चम्पापुर कंचनपुरका संतोष ऐर र काठमाडौंका विप्रा पोखरेल सदाका लागि अस्ताए भने तीन जनाले पूर्नजीवन पाए । बाँचेका मध्ये एक अर्जुन मि श्र कुल्लुको जिल्ला अस्पतालबाट डिस्चार्ज भएर फर्किएपछि नयाँ दिल्लीको लक्ष्मीनगरमा पंक्तिकारसँग कुरा गर्न तयार भए ।

चार वर्षदेखि उत्तर प्रदेशको ग्रेटर नोयडाको आइआइएमटी इन्जिनियरिंग अन्तिम वर्षका छात्र अर्जुन मि श्र केहि महिना अघि मात्र हिमांचल प्रदेशको कुल्लुको ट्रेकिंगबाट फर्किएका थिए । ‘साथीहरुसँग फेरि जाने योजना बनायौं, मेरै नेतृत्वमा ट्रेकिङका लागि हिडेका थियौं । गाइड गर्न सक्छु भन्ने थियो । दिल्लीबाट कुल्लु हिडेका हामी मणिकरण ,खीरगंगा,रसौल हुँदै कसौलसम्म पुग्यौं,’ अर्जुनले भने ।

चैत १९ गते शनिबार राती साढे बाह्र बजे दिल्लीबाट हिडेका पाँच विद्याथी तीन दिनमा फर्किहाल्ने योजनामा थिए । तर, नियतीले अर्कै योजना बनाएको थियो उनीहरुका लागि । अर्जुनको अनुभव फेल खायो । ४ हजार फिटको उचाइमा रहेको रसौलबाट मलाना गाउँ तर्फ जाने क्रममा अचानक पानी पर्न थाल्यो । हिमपात पनि शुरु भयो । ‘हिडदै गयौं, हाम्रो अनुमानअनुसार तीन घंटामा मलाना पुगिसक्छौं भन्ने थियो । तर दुर्भाग्य सात बजेसम्म पनि हामीले बाटो फेला पार्न सकेनौं,’ उनले भने, ‘रसौलटप भन्ने ठाउँमा पुग्यौ, चारैतिर हिउँले पुरिएको छ, घुमिफिरी एउटै ठाउँमा पुग्थ्यौं । केहि बेरपछि हामीले चाल पायौं, बाटो भुल्यौ भनेर ।’ हिउँको चिसोले उनको पैताला अझै लाटिएको छ ।

मोबाइलको चार्ज पनि सकिइसकेको थियो । संतोष (चिसोले कठाग्रिएर निधन भएका कन्चनपुर निवासी संतोष ऐर) को मोबाइलमा १५ प्रतिशत ब्याट्री रहेछ । त्यसैबाट उनीहरूले सय नम्बरमा प्रहरीलाइ फोन गरे । दिल्लीमा रहेका दाइ राजेश घिमिरेलाई फोन गरेर बाटो भुलेको र चाँडै उद्धार नभए नबाँच्ने बताए । ‘कहाँ छौं भन्ने पनि थाहा छैन । हिउँ पर्न रोकिएको थिएन, चिसोले कठाग्रिदै थियौं । बाँच्दैनौ भन्ने थियौँ, तैपनि एक अर्कालाइ हौसला दियौं,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्