Logo

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार



बाबियाचौर (म्याग्दी), २ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो ।

आयोजनाको क्षमता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसैघन्टा नियमित खानेपानी वितरण सुरु गरेको संस्थाले जनाएको छ । १५ महिनाअघि सुरु भएको क्षमता विस्तार योजनाको बिहीबार गरिएको परीक्षण सफल भएपछि नियमित पानी वितरण सुरु गरिएको हो ।

राम्चे र बाँसखर्कको सिमानामापर्ने पुम्दी र रिठाखर्कको मुहानबाट आयोजनाको ट्याङ्कीसम्म १० किलोमिटर पाइपलाइनबाट थप बीस लिटर प्रतिसेकेन्ड पानी आपूर्ति गरिएको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

यसअघि पुम्दी खोला र कोप्रे दूधेखोलाको मुहानबाट प्रतिसकेन्ड १२ लिटरका दरले पानी आपूर्ति हँुदै आएको थियो । हाल प्रतिसेकेन्ड बीस लिटर खानेपानीको माग रहेको बेनीमा आलोपालो प्रणाली (लोडसेडिङ) गरेर खानेपानी वितरण गरिँदै आएको संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो ।

माग अनुसार खानेपानी आपूर्ति नहुँदा उपभोक्ताले बैकल्पिक स्रोतबाट पानीको व्यवस्था गरेका थिए । संस्था अन्तरगत ९५० घरधुरी उपभोक्ता छन् । थप पचास घरधुरी उपभोक्ता थपिने क्रममा छन् ।

अहिलेको जनसंख्या वृद्धिदर अनुसार आगामी दश वर्षसम्मका लागि आयोजनाबाट सबै उपभोक्ताको घरमा नियमित शुद्ध खानेपानी आपुर्ति गर्ने संस्थाका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।

लक्ष्य अनुसारकै समय अवधिमा आयोजनाको काम सकिएको हो । क्षमता विस्तार योजनामा सरकारको सत्तरी प्रतिशत अनुदान र उपभोक्ताको तीस प्रतिशत लगानी भएको छ । उपभोक्ताबाट पाँच प्रतिशत नगद संकलन र २५ प्रतिशत नगर विकास कोषबाट ऋण लिएर आयोजनाको क्षमता विस्तार गरिएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्