Logo

विश्व बैंकको सहयोगमा सडक निर्माण द्रूतगतिमा



कञ्चनपुर, २ वैशाख । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ ।

भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्माले बताउनुभयो ।

उहाँका अनुसार भीमदत्तनगरपालिकाको रेडक्रस, बागफाँटा, सुन्दरपुर र सिसैयासम्मको सडकको चार दशमलव २५ किलोमिटरमा ओटासिल प्रविधि मार्फत कालोपत्रेको कार्य गरिएको छ ।

बाँकी सडकमा माटो, ग्राभेल राखेर स्तरोन्नतिको कार्य गरिएको छ । सडक निर्माणका लागि रु पाँच करोड एक लाख ६५ हजार ६१४ बजेटको व्यवस्था गरिएको छ । वाणि देखतभूली ६ दशमलब ७६९ किलोमिटर सडकमा ओटासिल प्रविधिबाट कालोपत्रे गर्नका लागि रु तीन करोड ९२ लाख ८२ हजार ९९७ बजेट विनियोजन कार्यलाई अगाडि बढाइएको छ ।

पुनर्बास नगरपालिकाको परासन, त्रिभुवनबस्ती, लक्ष्मीपुर, बेलौरी २५ दशमलब ७ किलोमिटर सडकलाई दुई चरणमा सम्पन्न गर्नेगरी कार्य अगाडि बढाइएको छ । “पहिलो चरणमा रु तीन करोड ४९ लाख ५५ हजार ४०७ को लागतमा सडकको १० किलोमिटर र दोस्रो चरणमा रु चार करोड ३१ लाख ४९ हजार ६५२ को लागतमा १५ किलो मिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्नेगरी कार्यलाई अगाडि बढाएका छौँं” इन्जिनियर शर्माले भन्नुभयो ।

महाकाली नगरपालिकाको झोलुङ्गे पुल, कृतियाकभर रु ६ करोड ६६ लाखको लागतमा कालोपत्रे हुने सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
बेदकोट नगरपालिकाको पूर्व–पश्चिम राजमार्गदेखि गाउँजी वृद्धाश्रमसम्मको ६ किलोमिटर सडकमा ग्राभेल राखी स्तरोन्नतिको कार्य गरिएको छ । ओटासिल कालोपत्रेको माग भएकाले प्रक्रियामा रहेको छ ।

वाणि, देखतभूली, कञ्ज, शङ्करपुर, पचगडियासम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिएको छ । निर्माणाधिन सडकमा स्तरोन्नतिका लागि माटो, ग्राभेल राख्ने कार्यसँगै आवश्यकता भएका ठाउँमा स्ल्याब कल्भर्ट र पाइप कल्भर्टसमेत राखिएका छन् ।

कार्यक्रम अन्तर्गत मलेरिया नाला र खर्सा नालमा पुलनिर्माणका लागि डिपिआर तयार गरी परियोजना व्यवस्थापन इकाई बुटवलमा पठाइएको मुख्य इन्जिनियर शर्माले बताउनुभयो ।

अन्य पाँचवटा सडकमा नियमित मर्मत सम्भारको कार्यसमेत गरिँदै आएको छ । राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) कञ्चनपुरमा सन् २०१४ मे महिनादेखि सुरु भई सन् २०१९ मा सकिने छ । रासस



प्रतिक्रिया दिनुहोस्