Logo

आकांक्षी धेरै भएपछि उमेदवार छान्न सकस



पोखरा, २ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ ।

उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा मतदातामा को को उम्मेदवार बन्दै छ भन्ने उत्सुकता बढेको देखिन्छ ।

अहिले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका को को उमेदवार बन्ने होलान भन्ने चर्चा मतदातामा हुने गरेको छ । कुनै एक प्रमुख दलले उमेदवार चयन गरे त्यसलाई टक्कर दिने प्रतिस्पर्धी छान्ने दाउमा दलहरु रहेका छन् ।

उम्मेदवार तोकेपछि अरु आकांक्षीहरु भड्किने तथा पार्टीले तोकेका उम्मेदवारलाई असहयोग हुने शङ्का जिल्लाका शीर्ष नेतृत्वलाई पर्न गएको देखिन्छ ।

स्थानीय तह अधिकार सम्पन्न भएकाले पनि सबै दलका कार्यकर्तामा जनप्रतिनिधि बनेर काम गर्ने इच्छाशक्ति निकै बढेको देखिन्छ । यतिखेर दलहरु उम्मेदवार छान्नका लागि आन्तरिक बैठकमा व्यस्त देखिन्छन् । दलहरुले केही दिनभित्र स्वच्छ छवि, जनता माझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्नसक्ने उम्मेदवार छानिने बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्