Logo

बाढीपीडितलाई रु बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा



गुलरिया (बर्दिया), २ वैशाख । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन ।

विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । बाढीले तीन हजार ८५९ घर पूर्णरुपमा क्षति पु¥याएका थिए भने १३ हजार ५१७ घरमा आंशिक क्षति पु¥याएका थिए ।

अहिले सामान्य र आंशिक क्षति हुने आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाइ उठीबास भएर शिविरमा नै बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगरिँदा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन्

शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुनसकेको छैन । अन्य शिविरमा रहेकाको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउछन् सविन्द्र शाही ।

बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढीपहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासदहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गत रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ ।

सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी रु ३२ करोड ५६ लाख २१ हजार ९०० बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्