Logo

मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्नुपर्ने काँग्रेसको निर्णय



काठमाडौं, २ बैशाख । प्रमुख दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको मिति केही दिन पर सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा तराई मधेशमा चुनाव संभव छ कि छैन भनेर छलफल गर्न वसेको कांग्रेस पदाधिकारीहरुले २ नम्बर प्रदेशका केन्द्रिय सदस्य, जिल्ला सभापति र सांसदहरुसँग गरेको छलफलपछि यस्तो निर्णय भएको एक नेताले जानकारी दिए ।

मधेसको मागलाई पनि सम्वोधन गर्नेगरि चुनावको वातावरण तयार गर्न पार्टी सहमत भएको स्रोतको दाबी छ ।

वैठकले १० दिन चुनाव सार्ने र सवैलाई समेटेर चुनाव गर्नको लागि अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

२ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र पार्टी जिल्ला सभापतिबीचको छलफलबाट यस्तो सुझाव आएको हो । केन्द्रीय सदस्य अजयकुमार चौरसियाले मधेसका समस्या समाधान गरेर मात्र निर्वाचनमा जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

समस्या समाधान गर्न एमाले लचक नभएको र मधेसवादी दल आफूले उठाएका विषय टुङ्गो नलागी निर्वाचनमा नजाने अडानबाट बीचको बाटो निकालेर स्थानीय तहको निर्वाचन गरिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

अहिलेकै अवस्थामा २ नं प्रदेशमा निर्वाचन गरिए जनधनको क्षति हुनेतर्फ आठवटा जिल्लाका पार्टी सभापतिले नेतृत्वलाई जानकारी गराएका छन् । प्रदेशका जनता र मधेसवादी दलका नेता पनि निर्वाचनका लागि सकारात्मक रहेकाले छिटो सहमति गरी निर्वाचनको वातावरण बनाइनुपर्ने धेरैको माग रहेको सर्लाहीका पार्टी सभापति नागेन्द्रकुमार रायले बताउनुभयो ।

छलफलमा महोत्तरीका सभापति महेन्द्रकुमार राय, पर्साका अजय द्विवेदी, रौतहटका कृष्ण यादव, धनुषाका रामसरोज यादव, सप्तरीका दिनेश यादव, बाराका जयचन्द्र चौरसिया, सिराहाका सभापति रामचन्द्र यादव, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सांसद सुरेन्द्र चौधरीलगायतले २ नं प्रदेशका गाउँपालिका र नगरपालिकाको निर्वाचन यथास्थितिमा गर्न नसकिने भएकाले निर्वाचनको वातावरण बनाउन सहमति गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठकको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकले सहमतिका लागि मधेसवादी दलकै सहमतिमा संशोधन प्रस्तावलाई परिमार्जन गरी व्यवस्थापिका–संसद्मा दर्ता गरिएको जानकारी गराउनुभएको थियो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवलगायतले २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुको विचार सुन्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्