Logo

निर्वाचनको सन्देश लिएर मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा



(नारायण न्यौपाने) : काठमाडौँ, २ वैशाख । मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले स्थानीय तहको यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सन्देश लिएर आजदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन् ।

उनीहरुले निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक महिनासम्म मतदातालाई मतदान गर्ने, उम्मेदवार बन्ने र निर्वाचनमा विजयी भएपछि नेतृत्व सम्हाल्न सक्ने ढङ्गबाट मतदाता शिक्षा प्रदान गर्ने छन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता र शिक्षक एवम् शिक्षिका गरी मुलुकभर २१ हजारको सङ्ख्यामा स्वयंसेवक खटाएको छ ।

उनीहरु मतदाता शिक्षाका लागि आयोगले तयार गरेको पाँच प्रकारका पोस्टर, नेपालको संविधानमा निर्वाचन र यससँग सम्बन्धित केही जानकारी भएको हातेपुस्तिका, क्यालेन्डर, नमुना मतपत्रसहित बोकेर मतदातासमक्ष प्रस्तुत हुनेछन् । आगामी स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएको छ ।

मुलुकका ७५ जिल्लाबाटै मतदानस्थल यकिन भएको विवरण आयोगमा आइसकेको छ भने मतदान केन्द्रको सङ्ख्या केही दिनभित्रै छिनोफानो हुनेछ ।

देशका विभिन्न जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याका आधारमा आयोगले छ आकारको मतपत्र तयार गरेको छ । सबैभन्दा ठूलो मतपत्रमा ६८ क्रमाङ्क रहेको छ भने प्रत्येक क्रमाङ्कमा सातवटा चुनाव चिह्नका कोष्ठ रहेका छन् ।

काठमाडौँसहित रुपन्देही, नवलपरासी, मोरङ, झापा, सुनसरीजस्ता जिल्लाका लागि ठूलो मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा सानो आकारको रहेको मतपत्रमा १८ क्रम सङ्ख्या रहने छ ।

स्थानीय सरकार गठनको पहिलोपटक ७४४ स्थानीय तहको एकै चरणमा वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन हुन लागेको हो । आयोगले हालसम्म ६१ जिल्लाका एक करोड १७ लाखभन्दा बढी मतपत्रको छपाइ कार्य पूरा भइसकेको जनाएको छ ।

निकै लामो अन्तरालमा हुन लागेको निर्वाचन तथा मतपत्रको आकारसमेत ठूलो भएकाले आयोगले मतदाता शिक्षालाई एउटा अवसर र चुनौतीका रुपमा लिएर स्वयंसेवकलाई प्रत्येक मतदाताको घरदैलोमै पुग्ने गरी खटाएको हो । सो क्रममा एकजना स्वयंसेविकाले एक महिनाको अवधिमा कम्तीमा सात सयदेखि एक हजारसम्मलाई मतदाता शिक्षा प्रदान गर्ने छन् ।

आयोगले पहिलोपटक मतदानमा भाग लिँदै गरेका युवा, महिला र मधेसलाई केन्द्रित गरेर मतदाता शिक्षामा जोड दिएको छ ।

मतदान गर्ने समयभित्रै मतदान केन्द्रमा पुगिसक्ने, मतदाता परिचयपत्र साथमा लैजाने, मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषको लाइन बस्नुपर्नेलगायत मतदान गर्ने उम्मेदवारको पहिचान गरी स्वस्तिक चिह्नद्वारा मतदान गर्नेलगायत आवश्यक विषयमा प्रेरित गर्ने ढङ्गबाट स्वयंसेविकाले मतदातालाई शिक्षा दिने छन् ।

मतदान अधिकृतको दस्तखत नभएको, औँठाबाट मत सङ्केत गरेको, मत सङ्केत नबुझ्ने गरी लत्पतिएको, निर्वाचन चिह्न रहेको कोठामा नगरी बाहिर मत सङ्केत गरिएको, उम्मेदवार नै नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको अवस्थामा मत बदर हुने कुरामा पनि मतदातालाई प्रशिक्षित तुल्याइने छ ।

स्थानीय तहको निर्वाचनबाट नगरपालिकाको हकमा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य दलित महिला वडा सदस्य र अरु दुईवटा वडा सदस्य निर्वाचित हुनेछन् ।

आगामी स्थानीय तहको निर्वाचनबाट गाउँ कार्यपालिका÷ नगरपालिका, व्यवस्थापकीय अङ्गका रुपमा गाउँसभा÷नगरसभा र न्यायिक अङ्ग गाउँ÷नगर न्यायिक समिति गठन हुनेछ ।

यसैबीच, भोलि आइतबारबाट ७५ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने आयोगले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्