Logo

प्रदर्शनीमा नेपाल–बेलायत सम्बन्धका आयाम



काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ ।

नेपाल ब्रिटेन सोसाइटीको सहयोगमा नेपाल कला परिषद्ले आयोजना गरेको प्रदर्शनीमा नेपाल र ब्रिटेनबीचको सम्बन्धको कालखण्डमा भएका ऐतिहासिक घटनाक्रम, विकास साझेदारीका विविध आयाम आदिलाई चित्रमा प्रस्तुत गरिएको छ ।

विभिन्न नौवटा विषयवस्तुमा आधारित प्रदर्शनीमा पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि, सुगौली सन्धिपछि बेलायतसँग पहिलो सम्बन्ध गाँस्ने जङ्गबहादुरको पालामा भएका दुई देशबीचको सम्बन्धका झलक, हालसम्म दुवै देशले एकआपसमा गरेका सैन्य, शिक्षा, संस्कृति, विकास साझेदार आदिबारे तस्बिरका साथ विवरण प्रस्तुत गरिएको छ ।

त्यस्तै उत्कृष्ट नेपाली कलाका आकर्षक झलक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाका आकर्षक तस्बिर, नेपाली फूल र बिरुवाका ‘पेन्टिङ’, विकाससँग सम्बन्धित गतिविधि तथा तत्कालीन राजपरिवार र ‘सेलीब्रेटी भिजिट’ आदि समेटिएको करिब २०० तस्बिर प्रदर्शनीमा छन् ।

नेपाल कला परिषद्को प्रदर्शनी कक्षमा १५ दिनसम्म चल्ने प्रदर्शनी खासगरी दुई देशबीचको लामो सम्बन्धका ऐतिहासिक पक्ष र यसबारे युवापुस्ताले जानकारी लिउन भन्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीको एक कार्यक्रमका बीच उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन प्रदर्शनी उपयोगी हुने बताउनुभयो ।

नेपालको आर्थिक विकास तथा सांस्कृति प्रवद्र्धनमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उहाँले दुई पक्षीय लामो सम्बन्धलाई मुलुकको समृद्धिसँग जोड्नसक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री डा महतले लामो समयको अन्योलपूर्ण अवस्थापछि अहिले मुलुक राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको दिशामा अघि बढेको भन्दै यस सन्दर्भमा ठूलो विकास साझेदार मुलुक बेलायतको सहयोग र साझेदारीलाई अझ फराकिलो बनाइनुपर्ने धारणा राख्नुभयो ।

मुलुकलाई समृद्धितर्फ अघि बढाउन स्थायी सरकार र विधिको शासन अपरिहार्य रहेको भन्दै यसतर्फ आफूहरुको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले दुई देशबीचको दौँत्य सम्बन्धका विभिन्न आयामको चर्चा गर्दै कूटनीतिक र पारस्परिक सम्बन्धलाई अझ मजबुत तुल्याउन प्रदर्शनी सान्दर्भिक हुने बताउनुभयो ।

संस्कृतविद् एवम् नेपाल कला परिषद्का अध्यक्ष सत्यमोहन जोशीले नेपाल र बेलायतबीचको मैत्री सम्बन्धको २०० वर्ष लामो इतिहासमा विभिन्न पक्ष झँै संस्कृतिको संरक्षण र प्रवद्र्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सुगौली सन्धिपछि दुई देशबीच औपचारिक सम्बन्ध स्थापना भएको २०० वर्षभित्र भए गरेका महत्वपूर्ण कामको झलक, कूटनीतिकस्तरमा भएका महत्वपूर्ण उपलब्धि तथा विकास साझेदारका मुख्य विवरण प्रदर्शनीमा समेटिएको प्रदर्शनीका संयोजक सागर शमशेर जबराले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्