Logo

काष्ठमण्डप पुनःनिर्माणका लागि सहयोग हस्तान्तरण



काठमाडौँ, २ वैशाख । ‘टुर डे लुम्बिनी’ नामक सामाजिक संस्थाले काष्ठमण्डप पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले काष्ठमण्डप पुनःनिर्माण समितिलाई आज रु एक लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ ।

वसन्तपुरमा आज आयोजित कार्यक्रममा टुर डे लुम्बिनीका संस्थापक उपाध्यक्ष मेघ आलेले काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक वीरेन्द्रभक्त श्रेष्ठलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले भत्काएको काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि सोही वर्षदेखि सहयोग सङ्कलन गरिएको थियो ।

उक्त कार्यक्रममा उपाध्यक्ष आलेले काष्ठमण्डप प्राचीन समयमा विकास गरिएका पुरातात्विक महत्वका सम्पदा भएको भए पनि यसले अन्तर्राष्ट्रिय तहमा नेपाली सभ्यता र संस्कृतिको पहिचान प्रदान गरेकाले चाँडो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

संयोजक श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न सम्पदामध्ये काष्ठमण्डपको ऐतिहासिक महत्व तथा अनुपम कला शैलीले सजिएको सम्पदाका रुपमा रहेकाले स्वदेशी तथा विदेशीका लागि घुम्न आउने पर्यटनस्थल भएको विचार व्यक्त गर्दै सबै तह र क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।

यसैबीच टुर डे लुम्बिनीले काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले आज ‘सम्पदा साइकलयात्रा’ गरिएको छ । उक्त कार्यक्रम वसन्तपुर दरबार क्षेत्रबाट सुरु भई स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा पुगेर समापन गरिएको थियो ।

भूकम्पका कारण काठमाडौँ उपत्यकाका प्राचीन महत्वका सम्पदास्थलमा क्षति भएको र त्यसको पुनःनिर्माणका विषयमा जनचेतना जगाउने उद्देश्यले साइकलयात्रा गरिएको बताइएको छ । कार्यक्रममा विभिन्न पेसामा संलग्न स्वदेशी, विदेशी तथा साइकल मेकानिक्सलगायत ३०० को सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्