Logo

गैंडा सिकारमा सेना र संरक्षणकर्मीभन्दा तस्कर ‘एक कदम अघि’



काठमाडौं ३ बैशाख । नेपाली सेना, निकुञ्जका कर्मचारी र समुदायको २४ घण्टा निगरानी भएकै स्थानमा एकसिंगे गैंडा मारिनुले संरक्षणकर्मी र सेनाभन्दा तस्कर ‘एक कदम अघि भएको’ अध्ययन टोलीको निष्कर्ष छ ।

‘रात दिन गस्ती भएकै ठाउँमा गैंडा मार्न आउनु भनेको सरासर एम्बुसमा पर्नुजस्तै हो,’ गैंडा सिकारको अध्ययन गर्न वन मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक तथा निकुञ्ज विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाले शनिबार  भने, ‘यसले तस्कर हामी (निकुञ्ज)भन्दा बलिया, दक्ष र सशक्त छन् भन्ने फेरी पुष्टि भएको छ ।’

चैत २६ गते राति चितवन निकुञ्ज अन्तर्गत बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा मारिएको वयस्क भाले गैंडाबारे अध्ययन गर्न मन्त्रालयले उपमहानिर्देशक ठगुन्नाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

‘निकुञ्जको क्षेत्र, गैंडा, गस्ती, पानीका घोल, गैंडा आउजाउबारे ज्ञान भएका, जोखिम मोल्न सक्ने र दक्ष व्यक्तिले नै गैंडा मारेको हाम्रो ठम्याई छ,’ स्थलगत अध्ययन गरि फर्किएका संयोजक ठगुन्नाले भने, ‘यसले हाम्रो गस्ती र संरक्षण प्रणाली मजबुत छैन भन्ने संकेत दिएको छ ।’

ठगुन्नाका अनुसार घटनास्थल निकुञ्जको मुख्यालय कसराबाट जम्मा साढे दुई किलोमिटर दुरीमा पर्छ । कसरामा निकुञ्ज सुरक्षार्थ सेनाको एउटा गण नै तैनाथ छ भने निकुञ्जभित्र ५७ पोष्ट छन् । त्यसमा सेना र निकुञ्जको टोली तैनाथ हुन्छ । कान्तिपुरमा खबर छ ।

घटनास्थलबाट सबैभन्दा नजिकको ध्रुबा पोष्ट पर्छ । उक्त पोष्टमा सेना र निकुञ्जको संयुक्त टोली तैनाथ हुन्छ । तैपनि एकसिंगे गैंडा तस्करको निसानामा परेको कसैले पत्तै पाएनन् ।

‘बढीमा २०/२५ मिटरको दुरीबाट गोली हानेको देखिन्छ,’ ठगुन्नाले थपे, ‘जसले गर्दा आवाज पनि आएन, क्षणभरमै खाग काटेर लान पनि सफल भए ।’ घटनास्थल वस्तीबाट ५/६ किलोमिटर दुरीमा पर्छ ।

संयोग के भने त्यही ठाउँभन्दा १२ सय दुरीको दोभान मध्यवर्ती सामुदायिक वनमा २०७१ को वैशाख १९ मा पनि तस्करले एउटा गैंडा मारेका थिए । त्यो पछि चितवन निकुञ्जमा तस्करले गैंडा मारेका थिएनन् । त्यही भएर सरकारले तीन वर्षदेखि वैशाख २० मा ‘शुन्य चोरी सिकार’ पनि मनाउँदै आएको थियो । आगामी वैशाख २० मा त्यसको तेस्रो संस्करण मनाउने तयारी थियो ।

चैत २५ गते शुक्रवार बेलुकीदेखि नै मौसम खराब थियो । राति असिना पानी परेको थियो । ठगुन्नाको अनुमानमा त्यही मौका छोपेर तस्करको समूह गैंडा ओहोर–दोहोर गर्ने बाटो रुँगेर बसेका थिए ।

‘कि मर्छु कि मार्छु भन्ने आँट भएका अनुभवी व्यक्ति त्यसमा संलग्न हुन सक्छन्,’ उनले सुनाए, ‘हामीले केहीमाथि आशंका गरेर अनुसन्धान थालेका छौं, केही दिनमा परिणाम देख्न सकिनेछ ।’

भरतपुर उपमहानगर–२३ मा पर्ने हरियाली मध्यवर्ती क्षेत्रमा गैंडाको आउजाउ राम्रो छ । त्यही भएर सेना र निकुञ्जले उक्त क्षेत्रमा बाक्लो गस्ती गर्ने गरेको छ । सेनाले केही वर्षदेखि ‘रियलटाईम स्मार्ट पेट्रोलिङ’ गर्दै आएको छ ।

निकुञ्जका सूचना अधिकारी सहायक वार्डेन नुरेन्द्र अर्यालका अनुसार घटना भएको दिन शुक्रबार पछिल्लो पटक सेनाको मोबाइल टोलीले ६ बजे उक्त क्षेत्रको गस्ती गरेर फर्किएको थियो । ‘प्राय:जसो त्यो क्षेत्रमा हाम्रो गस्ती हुने गरेको हो,’ अर्यालले भने, ‘कम्तिमा तीनपटक गस्ती हुन्छ ।’

निकुञ्जको मोबाइल टोलीले मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि दैनिकजसो गस्ती गर्ने गरेको छ । आधुनिक प्रविधियुक्त गस्ती हुने गरेका कारण पछिल्ला वर्षमा निकुञ्ज भित्र र बाहिर कहाँ के भईरहेको छ भनेर बुझ्न पनि सजिलो भएको थियो । तर त्यो घटनापछि गस्ती प्रणालीमा प्रश्न उब्जिएको छ ।

तस्करको पहिचान गर्न निकुञ्जमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरिएको छ । उक्त घटनामा पनि तालिमप्राप्त दुई कुकुर प्रयोग गरियो । तर, कुकुर घटनास्थलबाट डेढ दुई सय मिटरको जंगलबाट अघि बढ्न नसकेको अर्यालले जनाए । कुकुरले देखाएको बाटो फलो गर्दै तस्करीमा संलग्न व्यक्तिबारे खोजी गर्ने गरिएको थियो ।

चितवन निकुञ्जमा पटक–पटक ‘चिफ वार्डेन’ भएर काम गरेका विभागका पूर्व महानिर्देशक श्याम बजियम ‘कहीं न कहीं सेक्युरिटी ल्याप्स भएकै कारण घटना भएको हुन सक्ने’ तर्क गर्छन् । गैंडा स्थानान्तरणमा प्राविधिक कर्मचारी, हात्ती र सुरक्षाटोली व्यस्त हुँदाको फाईदा पनि तस्करले लिएको हुन सक्ने बजिमयको अनुमान छ । ‘स्थानान्तरणमै पो बढी ध्यान केन्द्रित भयो की ?’ उनले प्रश्न गरे, ‘स्थानान्तरणबाहेक सुरक्षा पाटोबाट पनि हेरिनुपर्थ्याे ।’



प्रतिक्रिया दिनुहोस्