Logo

बालकृष्ण ढुंगेल राजधानीमा रहेको खुलासा



काठमाडौं ३ बैशाख । प्रहरीको खोजीमा रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल काठमाडाडौंमा रहेका खुलासा भएको छ । सरकारको सूचनामा भारत रहेको बताइएपनि प्रहरीको अनुसन्धान ब्यूरोले काठमाडौमा रहेको पत्ता लगाएको छ । उनलाई पक्राउ गर्न काठमाडौं बाहिरने नाकामा कडा सुरक्षा बनाइएको छ । उनी काठमाडौंको सीमलटारमा रहेको सीताराम ओझाको घरमा बस्ने गरेको पत्ता लागेको छ । प्रहरीले त्यो घरलाई निगरानीमा राखेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न विशेष संयन्त्र बनाएर परिचालन गरेको हो ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादी केन्द्रका नेता ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न तीन दिनअघि वारेन्ट आदेश जारी गरेपछि प्रहरीले पक्राउका लागि थप सक्रियता देखाएको हो ।

सो निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनको गृहजिल्ला ओखलढुंगा जिल्ला प्रहरी कार्यालयलगायत सबै मातहत निकायलाई आन्तरिक सर्कुलर गरेर तत्काल पक्राउ गरी अदालत पेस गर्न भनेको छ । सर्वोच्च आदालतले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरी प्रशासन पनि उनलाई पक्राउ गर्न अग्रसर देखिएको हो । प्रहरी प्रशासनकै अगाडि बसेर सार्वजनिक रूपमा अभिनन्दन लिने तथा सर्वोच्च अदालतलाई मानहानि गर्ने अभिव्यक्ति दिने र न्यायाधीशहरूलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ नगर्दा कानुनी राज्यको उपहास भएको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्