Logo

विश्व पर्वतारोही पण्डित सम्मानित



काठमाडौँ, ३ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले सगरमाथा, मनास्लुसहित संसारका ११ हिमालको सफल आरोहण गर्नुभएका सञ्जय पण्डित तथा १० पटकसगरमाथा आरोहण गर्न सफल अमेरिकी आरोही भर्न तेजासलाई आज सम्मान गर्नुभएको छ ।

पण्डितले गत जनवरीमा अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सेन मासिफ र अन्टार्टिकाकै रजम्यानको सफल आरोहण गर्नुभएको थियो । दुवै हिमाल आरोहणका लागि विश्व चर्चित सात हिमाल आरोही भर्न तेजासले पथप्रदर्शन गनुभएको थियो ।

पण्डितले आफूले अन्टार्टिकाको सर्वोच्च शिखरमा फरफराएको नेपालको राष्ट्रिय झन्डा र उपराष्ट्रपति अङ्कित तस्बिर उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपतिले प्रमाणपत्र र खादासहित पण्डितलाई प्रदान गर्नुभएको थियो ।

उपराष्ट्रपति निवासमा भएको कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष एवम् नेपाली पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाको पनि सहभागिता थियो ।

पण्डितले अस्ट्रेलियाको सर्वोच्च शिखर तथा अफ्रिकाको सर्वोच्च शिखर नेपाली दौरासुरवाल, भादगाउँले टोपी लगाई आधार शिविरबाट शिखरसम्मको यात्रा तय गर्नुभएको थियो भने युरोपको सर्वोेच्च शिखरमा ६ मिनेट तीन सेकेन्डसम्म बस्न सफल हुनुभएको थियो ।

कार्यक्रममा उपराष्ट्रपतिले पण्डित जस्ता देशका गहनालाई सरकारले उचित सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । पण्डितको अन्टार्टिका यात्रालाई उपराष्ट्रपतिले नेपालको राष्ट्रिय झन्डासहित बिदाइ गर्नुभएको थियो । पण्डित उल्टो हिँडेर आरोहण गर्ने पहिलो विश्व पर्वतारोही पनि हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्