Logo

देशभर भर्ना अभियान सञ्चालन



भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ ।

यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गरेको छ । महानिर्देशक पौडेलले २०७३ सालमा प्राथमिक उमेर समूह ५ वर्षदेखि ९ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ वर्षदेखि १२ वर्ष उमेर समूहको खुद भर्ना दर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताउनुभयो । विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउन र विद्यालयमा टिकाइराख्न भर्ना सुरु भएको हो ।

शिक्षा विभागका उपनिर्देशक एवम् अनिवार्य शिक्षा तथा बाल अधिकार शाखाका प्रमुख नरहरि अर्यालले जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन १ गतेदेखि नै भर्ना अभियान सुरु भए पनि अन्य ७० जिल्लामा भने आजदेखि सुरु भएको बताउनुभयो ।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्