Logo

कानूनमन्त्रीको प्रश्न : मोर्चाले कसलाई देखाउन र के को लागि यस्तो नाटक गरिरहेको छ ?



काठमाडौं, ३ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मधेशी मोर्चाको निर्णय आश्चर्यजन रहेको टिप्पणी गर्दै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मोर्चाले निर्वाचन बहिष्कार गरेपनि चुनाव हुन्छ, तर हामी सहमतिको लागि अन्तिमसम्म पनि लचिलो भएर प्रस्तुत हुन्छौं।’ उनले सरकार मोर्चालाई पेलेरै एकलौटी ढंगले निर्वाचनमा जाने पक्षमा नभएको समेत स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकारले मोर्चासँग हरेक विषयवस्तुमा छलफल गरेर नै नयाँ संशोधन प्रस्ताव ल्याएको भएपनि मोर्चा प्रस्ताव अस्विकार गरेर नाटकीय ढंगले प्रस्तुत भएको आरोप लगाए ।

उनले भने,‘हामीले उहाँहरुसँग हरेक विषयवस्तुमा छलफल गरेर नै अहिलेको संशोधन प्रस्तावमा उल्लेख भएका विषयहरु ल्याएका छौं, तर उहाँहरुले बाहिर नाटक गर्नुभयो ।’ मन्त्री नायकले मोर्चाले अहिलेको प्रस्ताव स्विकार गरेर आउनुपर्दथ्यो भन्दै प्रस्ताव अस्विकार गरेर मोर्चाले गम्भिर भुल गरेको टिप्पणी गरे ।

उनले मोर्चा तथा संघीय गबन्धनको निर्णयले मुलुकलाई कतै प्रतिगमनतर्फ लैजाने षडयन्त्र भैरहेको छैन भन्ने भान भएको समेत बताए ।

मोर्चाले आन्दोलन गरे मधेश झनै अप्ठयारोमा पर्ने र मधेशी जनतालाई अधिकारविहीन पार्ने र झनै पछि धकेल्ने काम हुने उनको चिन्ता थियो । उनले भने,‘मोर्चाले कसलाई देखाउन र के को लागि यस्तो नाटक गरिरहेको छ ? यो बुझ्न सकिएन, तर जे भएपनि अब निर्वाचन रोकिँदैन् ।’

राष्ट्रलाई बन्धक बनाएर राख्न नहुने पक्षमा सरकार रहेकोले यदि सहमति हुन्छ र मोर्चापनि चुनावमा भाग लिने वातावरण बन्छ भने केही प्रदेशमा दुई चरणमा पनि चुनाव हुन सक्ने उनले विश्वास व्यक्त गरे । उनले तराई मधेशका जनतामा पनि निर्वाचनले छोईसकेकोले अब निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शंका नगर्न सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्