Logo

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार गंभिर छ : रेग्मी



काठमाडौं ३ वैशाख । स्वास्थ्य मन्त्रालयका कानून उपसविच शम्भुराम रेग्मीले सरकार सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लागू गर्न गम्भिर रहेको बताएका छन् ।

आईतबार क्यान्सर काउन्सिल नेपालद्वारा आयोजना र नेपाल टेलिकमको प्रयोजनमा एपेक्स कलेज पुरानो वानेश्वरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको नकारात्मक प्रभावको बारेमा संचालित जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि कानूनको पालना अपरिहार्य रहेको छ । उनले नेपालमा हाल सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोगले गर्दा धुम्रपान नगर्ने व्यक्तिहरु पनि प्रभावित भएको उल्लेख गर्दै भने,‘जसका कारण मानिसहरु विभिन्न किसिमका रोगहरुबाट प्रभावित भएका छन्, क्यान्सर

काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि गर्दै आएको जनचेतनामूलक कार्यक्रम अत्यन्तै प्रभावकारी एवम् प्रशंसनीय छ, आगामी दिनमा पनि यस्तो खाले कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्नको लागि म भित्रबाटै आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णु दत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थ एक विकराल समस्याको रुपमा देखा परेको कुरा बताए ।

६०% नसर्ने रोगहरु सुर्तीजन्य पदार्थको कारणले गर्दा भएको र वर्षेनी ३०–३५ हजार क्यान्सर रोगीहरु थपिने र २० हजार मानिसहरुले अकालमै ज्यान गुमाउने कुरा उनले जानकारी दिए ।

सुर्तीजन्य पदार्थको रोकथाम गर्न सकेमा हजारौं मानिसलाई अकाल मृत्युबाट बचाउन सक्ने कुरा डा. पौडेलले विश्वास व्यक्त गरे । शुरुमा क्यान्सर रोग पहिचानको लागि जनचेतनामूलक कार्यक्रम अपरिहार्य भएको कुरा उनले प्रष्ट पारे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमलाई बढि जोड दिनुपर्ने कुरा बताए ।
विद्यालय तथा कलेज उमेरका विद्यार्थीहरु साथीहरुको प्रभाव र प्राप्त जनचेतनाको अभावले गर्दा सुर्तीजन्य पदार्थको सिकार हुन पुगेको कुरा कडरियाले बताए ।

सुरुमा किशोर किशोरीहरु सुर्तीजन्य पदार्थको सेवन गरेता पनि कालान्तरमा लागू पदार्थको दूव्र्यसनी हुने देखिएको बताउँदै उनले भने,‘यसले गर्दा समाजमा शान्ति, सूरक्षा तथा अमनचयन कायम गर्न अप्ठ्यारो परिरहेको छ, यसकै कारण अपराधजन्य क्रियाकलापहरु समेत ह्वात्तै बढेको छ।। उनले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि सरकारका विभिन्न मन्त्रालय, नागरिक समाज र संघ संस्था बीच समन्वय हुनु पर्ने औल्याँए ।

जीवन विज्ञानका योग प्रशिक्षक निर्मला के.सी.का अनुसार योग नै यस्तो विज्ञान हो जसले मानिसलाई नैतिकवान र अनुसाशित बनाइराख्छ । हरेक व्यक्तिले सक्रिय जीवन विताउन योग तथा व्यायम गर्नु पर्ने कुरा के.सी.ले बताईन् ।

कार्यक्रममा १५० जना भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले आफूले सिकेको कुरा छरछिमेक र समाजका अन्य व्यक्तिहरुलाई समेत सिकाउने प्रतिबद्धता व्यक्त गर्दै क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम संचालन गरेकोमा प्रशंसा गरे ।



प्रतिक्रिया दिनुहोस्