Logo

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सोही कार्यालयले हेटौँडा उपमहानगरपालिका क्षेत्रको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको निर्वाचन प्रक्रिया सञ्चालन गर्नुका साथै अन्य स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि सबै निर्वाचन अधिकृतको कार्यालयको अभिभावकको भूमिकासमेत निर्वाह गर्ने जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताउनुभएको छ ।

यसैबीच मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकामा वैशाख १२ गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने लक्ष्यका साथ कार्य भइरहेको पनि सो कार्यालयले जनाएको छ ।जिल्लामा बाग्मती गाउँपालिका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिका रहेका छन् । जिल्लाको उत्तरीतर्पm एक मात्र थाहा नगरपालिका रहेको छ ।

मकवानपुरमा निर्वाचनको तयारी

स्थानीय तहको निर्वाचनबाट मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको क्रमशः अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख, उपप्रमुखसहित २० र वडा अध्यक्ष, वडा सदस्य गरी पाँच सय १० जना समेत जम्मा पाँच सय ३० जना जनप्रतिनिधि निर्वाचित हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा समेत गरी कुल दुई सय ९५ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मकवानपुरको बाग्मती गाउँपालिकामा २३, वकैया गाउँपालिकामा २६, मकवानपुरगढी गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा २३, राक्सीराङ गाउँपालिकामा २१, कैलाश गाउँपालिकामा १९, इन्द्रसरोवर गाउँपालिकामा १४ र भीमफेदी गाउँपालिकामा १९ वटा मतदान केन्द्र तोकिएका छन् ।

यसैगरी थाहा नगरपालिकामा ३७ र हेटौँडा उपमहानगरपालिकामा ९३ वटा मतदान केन्द्र कायम छ । मकवानपुरमा जम्मा मतदाता सङ्ख्या दुई लाख २७ हजार सात सय ५९ रहेका छन् । आठ गाउँपालिकातर्पm एक लाख १६ हजार चार सय ९५, थाहा नगरपालिकामा २७ हजार ६ सय ६७ र हेटौँडा उपमहानगरपालिकामा ८३ हजार पाँच सय ९७ मतदाता रहेको सो कार्यालयले जनाएको छ ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी करिब दुई हजार जनशक्ति परिचालन हुन सक्ने मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका क्षेत्रमा रहने मतदान केन्द्रको संवेदनशीलतालाई अनुगमन गर्न एकीकृत सुरक्षा युनिट खडा गरी निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न उच्च प्राथमिकताका साथ सुरक्षाको तयारी भइरहेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्