Logo

तीन वर्षपछि दुई अङ्कको आर्थिक वृद्धि हासिल हुन्छ : उपाध्यक्ष श्रेष्ठ



काठमाडौँ, ३ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने बताउनुभएको छ ।

उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसङ्घका विभिन्न संस्थाको संयुक्त कार्यकारी समितिको प्रतिनिधिमण्डलसँग आज आयोगको सचिवालयमा भएको शिष्टाचार भेटमा उक्त विचार व्यक्त गर्नुभएको हो ।

विगत एक दशकभन्दा धेरै समय नेपालको आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा कम रहेको भए पनि यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण गरिएको आगामी तीन वर्षपछि दुई अङ्कको रहने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनपछि देश आर्थिक विकासको बाटोमा द्रुतस्तरमा अगाडि बढ्ने र निर्वाचन पछि देशमा राजनीतिक स्थिरता आउने उहाँको भनाइ थियो । “यही वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनले मुलुकलाई विकासको नयाँ चरणमा डो¥याउने हामीले आशा गरेका छौँ,” उहाँले भन्नुभयो ।

उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले नेपालमा संयुक्त राष्ट्रसङ्घको सहयोगको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारको तर्फबाट धन्यवादसमेत व्यक्त गर्नुभएको थियो । उहाँले बदलिँदो परिस्थितिमा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ लगायतबाट थप सहयोगको अपेक्षा गरेकोसमेत बताउनुभयो ।

भेटका अवसरमा संयुक्त राष्ट्रसङ्घका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित उक्त प्रतिनिधिमण्डलले सहश्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्यमा देखाएको प्रतिबद्धताप्रति नेपाल सरकारलाई धन्यवाद दिनुका साथै बदलिँदो परिस्थितिमा नेपाल सरकारको अपेक्षाबारे पनि चासो राखेका थिए । भेटमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशङ्कर घिमिरे तथा संयुक्त राष्ट्रसङ्घका नेपालस्थित कार्यालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा निर्वाचन आयोगका पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम