Logo

उच्च आर्थिक वृद्धि गरेकोमा महासङ्घले ग¥यो अर्थमन्त्रीको प्रशंसा



काठमाडौँ, ३ वैशाख । मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रशंसा गरेका छन् ।

सरकारले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो वृद्धिदर २५ वर्षयताकै उच्च हो ।

आव २०५०÷५१ पछि यसपटक उच्च आर्थिक वृद्धिदर हुन लागेको हो । विद्युत् भार कटौती र सरकारले लिएका आर्थिक नीति एवम् आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेको हो ।

उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित पदाधिकारीले आज अर्थमन्त्रालयमा गरेको भेटमा उद्योगी व्यवसायीले सरकारको योजनाका कारण आर्थिक वृद्धि उच्च हुन लागेकामा खुसी व्यक्त गरेका छन् ।

मुलुकको आर्थिक वृद्धिदर उच्च भएको, लगानी मैत्री वातावरण बनेको, आर्थिक विकासमा कोल्टे फेरेको र लगानी मैत्री वातावरण बनाएकोमा अर्थमन्त्री महरालाई धन्यवाद दिदैं उनीहरुले वर्तमान सरकारको कामबाट निजी क्षेत्र उत्साहित भएको बताउनुभयो ।

महासङ्घको नवनिर्वाचित पदाधिकारीले माओवादी नेतृत्वले उठाउँदै आएको आर्थिक क्रान्तिको अवसर आएको भन्दै यस्तै लगानीको वातावरण बन्दै गएमा आगामी १० वर्षमै उच्च आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै मुलुकको आर्थिक विकासका लागि सरकारले महासङ्घसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निजी क्षेत्रलाई प्रोत्साहन गरेर नै मुलुकलाई समाजवादमा लान सकिन्छ भन्नेमा आफू दृढ रहको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सशस्त्र युद्ध पनि हैन, शित युद्ध पनि हैन, आर्थिक विकास र समृद्धि नै पहिलो आवश्यकता हो ।”

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको सहयोग एवम् प्रवद्र्धन गर्ने नीति सरकारले अगाडि सारिएको बताउनुभयो ।

भेटमा महासङ्घका नवनिर्वाचित अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसहित सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्