Logo

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता



नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हाइदरावाद, चेन्नईबाट विमान अपहरणको सूचना सुरक्षा निकायलाई एक महिलाबाट शनिबार राति इमेलमार्फत आएपछि उच्च सतर्कता अपनाइएको मुम्बई प्रहरीले जनाएको छ । उक्त महिलाले आफूले छ अज्ञात केटाहरूले विमानस्थलमा सम्भावित आक्रमण हुनलागेको र ती मुम्बई, हाइदरावाद, चेन्नइ विमानस्थल रहेको भन्ने कुराकानी सुनेको भनी प्रहरीलाई इमेल गरेकी जनाएकी थिइन् ।

भारतको विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको अर्धसैनिक भारतीय औद्योगिक सुरक्षाबलका उच्च अधिकारीले सम्भावित विमान अपहरणको सूचना पाएपछि ती विमानस्थलमा सुरक्षास्थितिलाई कडा बनाइएको जनाए ।

प्राप्त सूचना अनुसार विमानस्थल सुरक्षार्थ खटिएको अर्धसैनिक बलले आफ्ना कुकुरको सहायतामा विमानस्थलको निगरानी बढाएका थिए भने विमानकम्पनीलाई पनि सम्भावित अपहरण प्रयासलाई असफल पार्न थप सतर्कता अपनाउन सल्लाह दिइएको थियो ।

अधिकारीले इमेलका बिषयमा अनुसन्धान शुरु गरेको बताएका छन् ।

भारतले यसअघि सन् १९९९ को डिसेम्बरमा नेपालको राजधानी काठमाडौंबाट दिल्लीका लागि छुटेको भारतीय एअरलाइन्सको आइ. सी ८१४ को उडानलाई एक लडाकू समूहले अपहरण गरेपछि त्यसलाई सुरक्षित रूपमा समाधान गरेको थियो ।

उक्त विमानलाई अफगानिस्तानको कान्दाहरमा लगेर अवतरण गराइएको थियो र विमान र विमानमा सवार १६६ जनाको सुरक्षाका लागि भारतले तीन उच्च लडाकूलाई रिहा गरेको थियो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्