Logo

स्वास्थ्यमन्त्री थापाको अर्को घोषणा पनि कार्यान्वयन, निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु



काठमाडौं, ३ बैशाख । सरकारले घोषणा गरेको निःशुल्क मृगौला प्रत्यारोपण सेवा आज देखि कार्यान्वयनमा आएको छ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले बैशाख १ गते देखि निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने घोषणा गरे बमोजिम भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आज दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पोखराका ३० बर्षिय दिपक गुरुङ र काठमाडौ नाङेभारेकी २६ बर्षिय लक्ष्मी ढकाललाई निःशुल्क मृगौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।
दुवै जनालाई उनीहरुकै आमाको मृगौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा अव लगातार निःशुल्क मृगौला प्रत्यारोपण हुने कार्यकारी निर्देशन श्रेष्ठले बताउनु भयो ।
मानवअंग प्रत्यारोपण केन्द्र बाहेक अहिले बिर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि निःशुलक मृगौला प्रत्यारोपण सेवा सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फागुन १७ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार स्वास्थ्य कर कोषको रकमलाई निःशुल्क प्रत्यारोपण सेवाका लागि छुट्याइएको छ । अहिले सरदर सात लाख रुपैया लाग्ने गरेको प्रत्यारोपण सेवा निःशुल्क भएको हो ।
निःशुल्क प्रत्यारोपणको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङको लागि थप ५० हजार रुपैया सम्म दिने व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्यारोपणपछि एक बर्ष सम्म औषधी र उपचारका लागि थप एक लाख रुपैया पनि दिने कानुनी व्यवस्था गरिएको स्वास्थ्य मन्त्री थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिनुभयो ।
प्रत्यारोपणका लागि स्वास्थ्य मन्त्रालयले चैत २५ गते निःशुल्क मृगौला प्रत्यारोपण संबन्धी निर्देशिका २०७३ पनि जारी गरेको उहाँले बताउनु भयो । निर्देशिकामा प्रत्यारोपणको सेवा लिने प्रक्रिया र मापदण्डहरु स्पष्ट पारिएको सल्लाहकार कटुवालले जानकारी दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्