Logo

राष्ट्रपति भारत यात्रा : यस्तो छ भ्रमण कार्यक्रम



काठमाडौं ४ बैशाख ।राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोली सहभागी हुनेछ ।

गत वर्ष अन्तिम समयमा केपी ओली सरकारले रद्द गरेको भ्रमण मुखर्जीको नेपालयात्राको करिब ६ महिनापछि सम्पन्न हुन लागेको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी तथा सांसदहरूसहित राष्ट्रपति भण्डारीको भ्रमण टोली सोमबार बिहान ११ बजे नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । राष्ट्रपति भण्डारी सोमबार भारत जाँदा र शुक्रबार आउँदा दुवै दिन सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ । यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणबारे भारतीय विदेश मन्त्रालय नयाँदिल्लीमा आयोजित विशेष ‘ब्रिफिङ’ मा नेपाल डेस्क प्रमुख सुधाकर दलेलाले राष्ट्रपति मुखर्जीको निमन्त्रणामा नेपाली राष्ट्रपति ‘विशेष सद्भावना भ्रमण’ मा भारत आउन लागेको बताउनुभयो । ‘पद सम्हालेयता यो नै नेपाली राष्ट्रपतिको पहिलो विदेश यात्रा हो’, उहाँले भन्नुभयो, ‘राष्ट्रपति मुखर्जीले गत नोभेम्बरमा भएको आफ्नो नेपाल भ्रमणमा उहाँलाई चाँडै भारत आउन निमन्त्रणा दिनुभएको थियो।’

भण्डारीको भ्रमणबाट नेपाल र भारतबीचको सदियौँ पुरानो मौलिक साझेदारी तथा जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास भारतीय पक्षले लिएको छ । ‘नेपाल-भारतबीच उच्चस्तरीय राजनीतिक तथा सरकारी अधिकारी तहमा द्विपक्षीय भ्रमण तथा भेटघाट बाक्लिएका बेला यो भ्रमण हुन लागेको छ । ६ महिनायता नेपाल र भारतबीच यो चौथो उच्चस्तरीय भ्रमण हो’, दलेलाले भन्नुभयो ।

राष्ट्रपति मुखर्जीको गत वर्ष भएको नेपाल भ्रमणपछि नेपाल र भारतबीच १३ वटा द्विपक्षीय बैठक र भेटवार्ता भएको बताउँदै सम्बन्धमा बृहत्तर रूपमा सकारात्मक नतिजा आइरहेको उहाँले बताउनुभयो । नेपाल र भारतबीचको व्यापार, लगानी, जलस्रोत, ऊर्जा सहकार्य र सुरक्षा तथा रक्षा, तेल तथा ग्यास आपूर्ति, भूकम्पपछिको पुनर्निर्माण, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धको दायरा अझै प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक कुराकानी फलदायी भइरहेको उहाँको भनाइ थियो ।अन्नपूर्ण पोस्टमा खबर छ ।

कनेक्टिभिटीका प्रोजेक्टहरूमा सीमापार रेलसञ्जाल, हुलाकी राजमार्ग, सीमामा एकीकृत सुरक्षा जाँच चौकी, सीमापार विद्युतीय प्रसारण र तेल पाइपलाइनमा पनि प्रगति भइरहेको उहाँले पत्रकारलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा गठित परियोजना अनुगमन संयुक्त संयन्त्रको बैठक तीनपटक बसिसकेको र उक्त संयन्त्रले द्विपक्षीय परियोजनाको कार्यान्वयनमा आएका चुनौती समाधान गर्न अत्यन्तै सहयोगी बनेको उहाँले बताउनुभयो । नेपालमा बन्ने अरुण ते श्रो परियोजनाका लागि ५८ अर्ब रुपैयाँ (भारु) लगानी गर्नेसम्बन्धी प्रस्ताव अघिल्लो महिना भारत सरकारले अनुमोदन गरेसँगै नेपाल र भारतबीचको ऊर्जा क्षेत्रमा सहकार्य नयाँ उचाइमा पुगेको दलेलाले जानकारी दिनुभयो ।

‘नेपालसँगका विभन्न क्षेत्रमा रहेको भारतको सहकार्यको समीक्षा गर्नका लागि राष्ट्रपतिको भ्रमण महत्ववपूर्ण हुनेछ । सबन्धलाई दुवै देशको हितमा प्रगाढ बनाउन यो भ्रमण महत्ववपूर्ण हुनेछ’, नेपाल डेस्क प्रमुख दलेलाले भन्नुभयो ।

भ्रमण कार्यक्रम
राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिनेछ । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।
मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ ।

मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्