Logo

भवन पुनःनिर्माणका लागि साढे दुई लाख सहयोग



बाबियाचौर (म्याग्दी), ४ वैशाख । आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको छ ।

२०७३ फागुन २५ गते विद्युत् सर्ट भई आगलागीबाट ध्वस्त भएको भवन पुनःनिर्माणका लागि अस्टे«लियामा रहनुभएका पूर्व विद्यार्थी सुमन बानियाँको पहलमा सो रकम प्राप्त भएको हो ।

व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गर्नुभएका बानियाँको पहलमा सङ्कलित सो रकम उहाँका बुबा कृष्णबहादुरले विद्यालयका प्रधानाध्यापक तीर्थ बानियाँ र व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँलाई आइतबार हस्तान्तरण गर्नुभयो ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठले विद्यालय भवन पुनःनिर्माणका लागि रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ भने एमाले जिल्ला कमिटी उपसचिव देवबहादुर घलेले रु २० हजार र सचिवालय सदस्य सन्तोष रावलले रु दुई हजार ५०० सहयोग गर्नुभएको छ ।

दश कोठे भवन जलेर रु ९२ लाख बराबरको क्षति पुगेको भवन पुनःनिर्माणका लागि हालसम्म रु १५ लाखभन्दा बढी सहयोग जुटेको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो । एक सय ७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको पाँच वटा कक्षा टहराबाट सञ्चालन भएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको विद्यालय र सहकारी संस्थालाई प्रवासबाट रु तीन लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्दै आएका महिला आबद्ध दाना युके आमा समूहबाट ज्ञानप्रकाश माविमा सोलार जडान गर्न रु एक लाख ५० हजार र सहकारीको भवन निर्माणका लागि रु एक लाख ६३ हजार सहयोग प्राप्त भएको ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।

दाना युके आमा समूहकी सदस्य कृष्ण पुनले व्यवस्थापन समितिका अध्यक्ष पुर्जा, सहकारीकी अध्यक्ष वुद्धिकुमारी पुर्जा र उपाध्यक्ष कृष्ण नेपालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो । प्रवासमा रहेका दानाका बासिन्दाले गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक गतिविधिमा सहयोग गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्