Logo

स्थानीय निकायको निर्वाचन : भक्तपुरमा दलहरु उम्मेदवार तय गर्दै



भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा मालेलगायतका पार्टीले दैनिक कार्यकर्ता भेला एवम् वडा भेला गर्दै उम्मेदवारको नामावली सङ्कलन गर्ने र माथिल्लो निकायमा पठाउने काम सुरु गरेका छन् ।

नेकाका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले वडा वडामा कार्यकर्ता भेला गर्दै वडादेखि नगरपालिकासम्मका उम्मेदवारको नामावली पठाउन सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “वडाले नगरलाई, नगरले क्षेत्रलाई र क्षेत्रले जिल्लामा उम्मेदवारको आकाङ्क्षीको नामावली पठाउने क्रम जारी छ र केही दिनभित्रै सबै नगरपालिकादेखि वडासम्मको नामावली आइपुग्ने छ ।”

उहाँका अनुसार वडाका उम्मेदवारको टुङ्गो काँग्रेसको क्षेत्र नं १ र २ ले गर्न नसकेमात्रै जिल्लामा पठाउन भनिएको छ र केही दिनभित्रै सबै उम्मेदवारको टुङ्गो लाग्नेछ । काँग्रेसमा उम्मेदवारका आकाङ्क्षी धेरै भए पनि सिफारिस भइआएका नामावलीलाई बिना विवाद टुङ्गोमा पु¥याउने कसरतमा काँग्रेस लागिपरेको छ ।

यता, एमालेले पनि गाउँ गाउँमा वडा कार्यकर्ता भेला गर्दै उम्मेदवारको नामावली तय गर्ने र माथिल्लो निकायमा पठाउने कार्यलाई तीव्रता दिएको छ । एमाले भक्तपुरका अध्यक्ष राजेन्द्र राजथलाले वडा वडाबाट उम्मेदवारको नामावली सर्वसम्मत रुपमा आउने क्रम जारी रहेको बताउनुभयो । वडादेखि नगर कमिटीले समेत आकाङ्कक्षी तीनजनाका दरले उम्मेदवारको नामावली पठाएको र केही दिनभित्रै नामावलीको टुङ्गो लाग्ने बताउनुभयो ।

यता, माओवादी केन्द्रका भक्तपुरका जिल्ला संयोजक डिपी ढकालले निर्वाचनको तयारीका लागि चारवटै नगरपालिकाको गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण दिनेदेखि उम्मेदवार छनोट गर्नेसम्मका काम भइरहेको बताउनुभयो । चैत २८ गतेसम्म सबै उम्मेदवारको नामावली टुङ्गोमा पु¥याउने पार्टीको योजना छ ।

नेपाल मजदुर किसान पार्टीले पनि गाउँगाउँमा गएर कार्यकर्ता प्रशिक्षण र उम्मेदवारको आकाङ्क्षीको नाम सङ्कलन गर्ने काम थालेको छ । पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठका अनुसार वैशाख १० गतेसम्म कसरी जाने र क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसक्नेछ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसँगै कार्यकर्तामा उत्साह थप्दै निर्वाचनका कार्यक्रम तीव्र रुपमा अगाडि बढाएको राप्रपा केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “उम्मेदवारको नामावली छनोट गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिने कामलाई तीव्र पारेका छौँ । केही दिनभित्रै सबै उम्मेदवारको छनोट टुङ्ग्याएर चुनावी प्रचार अभियानलाई तीव्र पार्छौं ।”

मालेका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष अदीपकुमार खड्काले चुनावको तयारीमा पार्टी होमिइसकेको र उम्मेदवार छनोटका लागि पार्टीले वडा वडाबाट नाम मागिसकेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्