Logo

मैना सुनुवार हत्याकाण्ड : दश वर्षपछि जन्मकैदको फैसला



बनेपा, ४ वैशाख । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।

काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको चारदिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको लामो दबाबमा दुई वर्ष आठ महिनापछि उत्खनन गर्दा कङ्काल भेटिएको थियो ।

सुनुवारको हत्याको आरोपमा वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन, सुनिल अधिकारी र सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाई विसं २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो । तर २०७० असोज १ गतेदेखि मुद्दा मुल्तबीमा राखिएको थियो । तर सुनुवारकी आमाले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा निवेदन दिएपछि मुद्दा फेरि जागेको थियो । तत्कालीन महासेनानी खत्री काठमाडौँका, सहसेनानी पुन रुपन्देहीका, सहसेनानी अधिकारी दोलखाका हुन् ।

फैसलापछि मैनाकी आमा देवीले राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै फैसला कार्यान्वन हुनुपर्ने उल्लेख गर्दै पीडकलाई तत्काल कारबाहीको माग गर्नुभयो । नेपाली सेनाले सैनिक अदालतमार्फत कारबाही भएको जिकिर गर्दै आएको छ भने प्रहरीले पनि सेनाविरुद्धको जाहेरी दर्ता अस्वीकार गरे पनि सर्वोच्च अदालतको आदेशपछि मात्रै मुद्दा दर्ता भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्