Logo

अठार वर्षका सबै युवालाई रोजगार बनाइने : कावा अध्यक्ष गौतम



धमलाले दिए एमालेलाई यस्तो सुझाव

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष वामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगार दिइने कार्यक्रम ल्याउन थालेको बताउनुभएको छ ।

आज पार्टी कार्यालय धूम्रबाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसञ्चार’ सम्बन्धी सुझाव सङ्कलन तथा छलफल कार्यक्रममा उहाँले भन्नुभयो – ‘तीन वर्षमा ‘एक घर एक रोजगार’ बनाइने छ ।’

कावा अध्यक्ष गौतमले “निर्वाचनपछि केन्द्रमा एमालेको सरकार बनेमा कोही पनि युवा बेरोजगार भएर बस्नु पर्दैन” भन्दै पहिलो वर्षमा खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा गरिबी उन्मूलन गर्ने बताउनुभयो ।

पाँच वर्षमा हरेक नेपालीको प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पु¥याउने खालका योजना घोषणापत्रमा ल्याउन थालेको बताउँदै उहाँले स्थानीय तहको भौतिक पूर्वाधार तयार गरी तीन वर्षमा नगरपालिका र गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने योजना ल्याउन लागेको बताउनुभयो ।

कावा अध्यक्ष गौतमले स्थानीय तहका लागि केन्द्र सरकारको ५० प्रतिशत बजेट विनियोजन गर्ने किसिमको कार्यक्रम ल्याउन थालेको जानकारी दिदैं “केन्द्रले स्थानीय तहलाई आफ्नो खुट्टामा आफँै उभिनेगरी बजेट विनियोजन गर्नुपर्दछ भन्नुभयो ।”

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, मनोरञ्जनजस्ता कुरा निःशुल्क गर्ने बताउँदै उहाँले अबको शिक्षा व्यावहारिक र वैज्ञानिक बनाइने धारणा व्यक्त गर्नुभयो ।

कावा अध्यक्ष गौतमले माध्यामिक र उच्च शिक्षाको अध्ययन गर्नका लागि आवासीयसहित निःशुल्क शिक्षा प्रदान गर्ने योजना पार्टीले ल्याउन लागेको उल्लेख गर्दै “व्यावसायिक र प्राविधिक शिक्षामा ७० प्रतिशत तथा सामाजिक, राजनीतिक र प्रशासनिक शिक्षामा ३० प्रतिशत जनशक्ति उत्पादन गर्ने योजना पार्टीको छ भन्नुभयो ।”

आगामी दस वर्षभित्रमा नेपाललाई एसियाको मापदण्डमा देशलाई पु¥याउने र प्रत्येक प्रदेशमा एउटा सूचना गाउँ स्थापना गर्ने बताउँदै उहाँले स्थानीय भाषाको विकासका लागि नीति ल्याइने जानकारी दिनुभयो ।

पार्टीले इन्टरनेटलाई पूर्णतया निःशुल्क प्रदान गर्नेजस्ता योजना घोषणापत्रमा ल्याउन थालिएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सङ्कटमा परेका सञ्चारमाध्यमलाई विशेष प्रथामिकतामा राख्ने बताउँदै सञ्चारकर्मीको सुझावलाई घोषणापत्रमा समावेश गर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक चिरञ्जीवी खनाल, कुन्दन अर्याल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लक्की चौधरी, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका सदस्य शुभेच्छा बिन्दु, आदिवासी जनजाति पत्रकार महासङ्घ दण्ड गुरुङ लगायतले स्थानीय तहमा सञ्चारमाध्यममलाई उद्योगका रुपमा विकास गर्नुपर्ने र पत्रकारको पारिश्रमिकजस्ता कुरालाई प्राथमिकतामा राखी घोषणापत्रमा समेट्नुपर्ने सुझाव दिनुभयो । रासस

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आसन्न निर्वाचनले स्थानीय सरकार बलियो हुने विश्वास गर्दै अब सञ्चार क्षेत्रलाई पनि स्थानीय तहबाटछै बलियो बनाउनुपर्ने सुझाव दिएका छन् ।

उनले सञ्चारलाई पनि उद्योगको रुपमा स्थापित् गर्नुपर्ने र यसको लागि प्रमुख प्रतिपक्षी दलले पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘निर्भिक रुपमा मिडियलाई आफ्नो समाचार पस्कने वातावरण बनाउनुपर्यो, अझैपनि यहाँ दलहरुले मिडियालाई आफ्नो अनुसार समाचार आए समर्थन गर्ने नभए हस्तक्षेप गर्ने काम भैरहेको छ, यो काम छोड्नुपर्यो, सरकारले मिडिया नियन्त्रण गर्नुहुँदैन्।’

त्यस्तै उनले पार्टीले पनि मिडियामा लगानी गर्ने काम बन्द गर्नुपर्नेमा जोड दिए । धमलाले थपे,‘मिडियालाई समयसापेक्ष बनाउनुपर्छ, प्रभावकारी र सशक्त बनाउने हो ।’ उनले स्थानीय तहलाई बलियो बनाएसँगै मिडियाको प्रभावकारी हुनुपर्नेमा जोड दिए । ‘तल्लोस्तरबाटै नै मिडिया फस्टाउनुपर्नमा अब सबै दलहरुले ध्यान दिनुपर्छ, लगानी गरेर देश र जनताके लागि हुनुपर्छ’ उनको भनाई थियो ।

त्यस्तै उनले आफूहरु सिष्टमलाई समर्थन गर्ने पक्षमा रहेकोले राजनीतिक दलहरु पनि त्यसबाट माथि उठ्नुपर्ने बताए । धमलाले भने,‘आफ्नो पक्षमा समाचार आउँदा खुशी हुने र आलोचना गर्दा गाली गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ।’

एमाले कार्यावाहक अध्यक्ष वामदेव गौतमले आयोजना गरेको कार्यक्रममा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई लगायत पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । एमालेले आम सञ्चार नीतिबारे पत्रकारहरुसँग आज सुझाव लिएको हो ।



प्रतिक्रिया दिनुहोस्