Logo

पहिलो दिन यस्तो रह्यो राष्ट्रपति भण्डारीको दिल्ली यात्रा



काठमाडौ ५ बैशाख । विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेकी छिन् । उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन् । राष्ट्रपतिलाई कृष्णाबाहेक भारतीय विदेश मन्त्रालयको उत्तर डिभिजन हेर्ने सहसचिव सुधाकर दलेला र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गरे । नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी पनि राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा सोमबार दिल्ली आएकी हुन् । मंगलबारसम्म दिल्ली बस्ने र त्यसपछि दुई दिन दिल्लीबाहिर बसेर शुक्रबार राष्ट्रपति भण्डारी स्वदेश फर्किनेछिन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र शान्तिमन्त्री सीतादेवी यादवसहित केही सांसद तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी भ्रमणदलमा सामेल छन् ।

भारतीय नेतासँग संविधानको बचाउ
राष्ट्रपति भण्डारीले सोमबार राष्ट्रपति भवनमा दिवाभोजपछि भारतीय शीर्ष नेतासँग छलफल गरेकी छन् । शिष्टाचार भेटका लागि गएका भारतीय नेतासँग राष्ट्रपतिले स्थानीय निर्वाचनमार्फत नेपालले समावेशी लोकतन्त्र सुदृढ गर्न लागेको बताइन् । राष्ट्रपतिले नेपालको संविधान सीमान्तकृत र उत्पीडितको पक्षमा रहेकाले आगामी स्थानीय निर्वाचनले उनीहरूको हित सुदृढ गर्ने स्पष्ट पारेकी छन् । ‘संविधान लोकतन्त्रलाई सुदृढ पार्न कोसेढुंगा साबित भएको छ,’ राष्ट्रपतिको भनाइ थियो ।

भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, आमआदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल, राष्ट्रवादी कंग्रेसका महामन्त्री डिपी त्रिपाठी र जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादवले राष्ट्रपतिसँग सबै पक्षलाई मिलाएर नेपाल संविधान कार्यान्वयनमा जाओस् भनेका थिए ।

भेटमा सहभागी परराष्ट्रमन्त्री डा. महतले स्थानीय निर्वाचनबारे भारतीय नेताले चासो राखेको र सफलताका लागि शुभकामना दिएको बताए । ‘समग्र विषयमा उहाँहरूले चासो र चिन्ता राख्नुभयो, चुनावका बारेमा कुरा राख्यौँ,’ महतले नयाँ पत्रिकासँग भने । तर, राष्ट्रपतिले मधेसी मोर्चाका विषयमा केही पनि उल्लेख नगरेको सहभागी एक अधिकारीले जानकारी दिए ।

‘आगामी स्थानीय निर्वाचनमार्फत संविधानका समावेशी व्यवस्थालाई नेपालले जनमानसमा पुर्याउँदै छ र निर्वाचनमार्फत नेपालले समावेशिता सुनिश्चित गर्दै छौँ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले  भने, ‘नेपालको संविधान समावेशी छ र यसमा उत्पीडित वर्ग र पक्ष समेटिएका छन् । निर्वाचनमार्फत सबै पक्षको उपलब्धि सुदृढ र संस्थागत हुनेछ ।’

राष्ट्रपतिले नेपाल र भारतबीच जनस्तरको सम्बन्ध र सहयोग वृद्धि गर्नुपर्ने पनि उल्लेख गरेकी थिइन् । ‘नेपालको राजनीतिक लाभ दिगो बनाउन सामाजिक–आर्थिक रूपान्तरणमा जानुपर्छ र नेपालको विकासमा भारतले सहयोग गर्नुपर्छ भन्ने राष्ट्रपतिज्यूको भनाइ थियो,’ राष्ट्रपतिका विदेश मामिलाविज्ञ डा. मदनकुमार भट्टराईले भने । भण्डारीले आगामी निर्वाचनमार्फत संविधानका समावेशी व्यवस्था कार्यान्वयनमा आउने उल्लेख गरेकी थिइन् ।

केजरिवाल नेपालबाट प्रभावित
राष्ट्रपतिसँगको भेटमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आफू नेपालको विकेन्द्रीकरणबाट प्रभावित भएको बताएका थिए । उनले नेपालको स्थानीय स्वायत्त शासनबारे अध्ययन गरेको र पुस्तकसमेत मगाएको राष्ट्रपतिलाई सुनाएका छन् । ‘नेपालको स्थानीय स्वायत्त शासनबाट म प्रभावित भएको छु, किताब ल्याएर पढेको पनि छु,’ केजरिवाललाई उद्धृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले भने । उनीबाहेक भारतीय नेताले एमालेका स्वर्गीय नेता तथा राष्ट्रपतिका श्रीमान् मदन भण्डारीसँग आफ्नो व्यक्तिगत सम्बन्धको चर्चा गरेका थिए ।

राष्ट्रपतिले नेपाली समुदायसँग के–के भनिन् ?
सोमबार अपराह्न बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनमा मतदान गर्न आह्वान गरिन् । उनले संविधानको बचाउमा समय खर्च गरिन् ।



प्रतिक्रिया दिनुहोस्