Logo

स्टिकर हेरेर मात्र पानी प्रयोग गर्न मन्त्रीको अपिल



पानीको ट्यांकरमा आजदेखि स्टिकर अनिवार्य 

काठमाडौं, ५ बैशख । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी बोक्न प्रयोग हुने ट्यांकरहरुले आजदेखि अनिवार्य रुपमा स्टिकर टाँस्नु पर्ने व्यवस्था लागू गरेको छ ।

नागरिकलाई शुद्ध पानी उपलब्ध होस् र जनस्वास्थ्य माथि कसैले पनि खेलवाड नगरोस् भन्ने उदेश्यका साथ मन्त्री शाहीले केहि समय अघि पानी बोक्ने ट्यांकर माथि स्टिकर प्रणाली लागू गर्न खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका थिए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीहरुलाई मन्त्री शाहीले पानी ट्यांकरहरुलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुने गरि कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि बोर्डले बैशाख ५ गते आज देखि स्टिकर प्रणाली लागू गरेको हो ।

ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण हुन् नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको ,सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो ।

अब देखि ट्यांकरमा रहेको पानीको परीक्षण गरेर पानीको सुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिने छ ।

स्टिकर हेरेर मात्र ट्यांकरको पानी प्रयोग गर्न मन्त्रीको अपिल

मन्त्री शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानीको प्रयोग गर्न आम नागरिक समक्ष अपिल गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमा पानीको परीक्षण गरेर त्यसको सुद्धताको आधारमा निलो ,पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गरि दिन्छ । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्त कारवाही गर्न सक्ने व्यवस्था लागू गरिएको छ । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् ।

पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेलो स्टिकर प्रदान गरिने छ । पहेलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ । यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

यस्तो पानी पिउने बाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ । पानीको परीक्षण गर्दा माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ तर फिजोकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिईन्छ । हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी खान मिल्दैन । त्यो हात मुख,धुन र शरीर सफा गर्न त्यस्तै भान्सामा प्रयोग मात्र सकिन्छ ।

ट्यांकरहरुले संचालन अनुमति लिनुपर्ने व्यवस्था लागू
खानेपानी बोक्ने ट्यांकरहरुले अनिवार्य रुपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।

अबदेखि बोर्डसँग अनुमति नलिई कुनै पनि ट्यांकर संचालन गर्न पाइने छैन । यस अघि खानेपानी व्यवस्थापन बोर्डसँग संचालन अनुमति नलिई खानेपानी बोक्ने ट्यांकरहरु संचालमा आइरहेको पाएपछि त्यसता ट्यांकरहरुलाई अनिवार्य रुपमा संचालन अनुमति लिनुपर्ने व्यवस्था गर्न मन्त्री शाहीले निर्देशन दिएका थिए ।

मन्त्री शाहीले भने , “ट्यांकरले ओसार्ने पानीमा अधिकांशले न कुनै अनुमति लिएको देखिन्छ । न त पानीको गुणस्तरको परीक्षण नै हुन्छ । यसरि जथाभावी गर्न दिने हो भने भोलि यो बिकराल समस्याको रुपमा निम्तिने खतरा छ । अहिले ट्यांकरले कुनै खोलाबाट सिधै पानी भरेर जनतालाई वितरण गर्यो भने पनि कसैले केहि गर्दैन । यस्तो अव्यवस्थित र जथाभावी रुपमा चल्न दिनु हुँदैन । निश्चित प्रक्रिया अपनाएर मात्र व्यवसाय गर्न दिनु पर्छ ।

नियमन गर्ने निकाय कमजोर हुँदा ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर कमसल भएको भन्दै मन्त्री शाहीले अब देखि अनुमति नलिएका ट्यांकरलाई कडाई गर्नुपर्ने बताए । उनले ट्यांकरले उपलब्ध गराउने पानीमा पैसा लिए अनुसारको गुणस्तर हुनुपर्नेमा जोड दिंदै गुणस्तर परीक्षण र मूल्यमा एकरुपता ल्याउन पनि अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गर्नुपरेको बताए ।

उपत्यकामा अहिले करिब ६०० ट्यांकर छन् भने दैनिक ५ करोडलिटर जति पानी बेचिरहेको तथ्यांङ्क रहेको छ । तर यी मध्ये अधिकांश ट्यांकरले बोर्ड संग अनुमति लिएका छैनन् । यो व्यवस्था लागू भएपछि यी ट्यांकरहरुले अनिवार्य रुपमा संचालन अनुमति लिने र सुद्धता मापन गरेर स्टिकर टाँस्नु पर्ने हुन्छ । अनि मात्र पानी वितरण गर्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्