Logo

त्रिभुवन विमानस्थलमा समस्यै समस्या



काठमाडौं ६ बैशाख । मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय (त्रिभुवन) विमानस्थल समस्यै समस्याले घेरिएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।  विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको लापरवाहीले समग्र अवस्था नै समस्याग्रस्त देखिएको संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गत उपसमितिको स्थलगत अध्ययनले ठहर गरेको हो ।

यही कारण विमानस्थलबाट मानव, मुद्रा, लागुपदार्थ, सुनलगायत तस्करी, चोरी, निकासी र पैठारीलगायत दर्जनभन्दा बढी समस्या रहेको समितिको निष्कर्ष छ ।

पुस २१ मा विमानस्थलबाट बाहिरिइसकेको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद गरेपछि माघ २७ मा बसेको समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा अध्ययन तथा सिफारिस गर्न उपसमिति गठन गरेर काम थालेको थियो ।

संयोजक जनकराज जोशीसहित सांसदहरू अम्बिका खवास राजवंशी, कृपासुर शेर्पा, जीतबहादुर गौतम, नगेन्द्रकुमार कुमाल, मिलनकुमारी राजवंशी र सरिताकुमारी यादव सदस्य रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा विमानस्थलका समस्या समाधानका भावी योजनासमेत औंल्याइएको छ ।

केही दिनमै समितिलाई प्रतिवेदन बुझाउने संयोजक जोशीले जानकारी दिए । संयोजक जोशीका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा १४ सरकारी, ४ अर्धसरकारी, ९ निजी संघसंस्था, १ सय ३८ व्यापरिक तथा अन्य संघसंस्था र ५ सुरक्षा निकाय गरी गरी १ सय ७१ वटा निकाय कार्यरत छन् ।

उपसमितिले औंल्याएको सुरक्षासम्बन्धी समस्यामा प्रस्थानतर्फको एक नम्बर गेटको प्रतीक्षा कक्षाको पश्चिमतर्फ ढोका पूर्ण रुपमा बन्द नरहेको र जाने/आउने प्रशस्त ठाउँ रहेकाले ढोकाभन्दा बाहिरको बाटो तथा चौर क्षेत्रबाट प्रतिबन्धित सामान ओसारपसार हुन सक्ने सम्भावना रहेको उल्लेख छ । उपसमितिको प्रतिवेदनअनुसार वाल फ्यानमा कभर नभएकाले खाली स्थानबाट कुनै पनि सामान भित्र–बाहिर गराउन सक्ने अवस्था छ । चुरोट खाने कोठाको बाहिरपट्टि खुला चौर रहेको तथा उक्त क्षेत्रमा कामदारसमेत आवतजावत गर्ने गरेको देखिन्छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्