Logo

राष्ट्रपतिको भ्रमण सफल रह्यो, भारतले ठूलो सम्मान दियो : मन्त्री महत



परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण रुपमा सफल रहेको र भारतले ठूलो सम्मान दिएको बताएका छन् । भारतीय उच्चस्तरीय भेटवार्तामा महत्वपूर्ण कुराकानी भएको समेत उनले जानकारी दिए । राष्ट्रपतिको भारत भ्रमण, भारतको नेपालको संविधान संशोधनबारेको धारणा लगायतका विषयमा मन्त्री महतसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रपतिको भारत भ्रमण कस्तो रह्यो ? सफल कि असफल ?

अत्यन्तै सफल भ्रमण रह्यो । भारत सरकारबाट उच्च सम्मान प्राप्त भयो । उहाँलाई जुन गार्ड अफ अनर दिईयो, औपचारिक रुपमा स्वागत गरियो त्यो अवस्थामा स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी उपस्थित हुनुभयो । राष्ट्रपति प्रणव मुखर्जी त भैहाल्नुभयो । यसर्थ उहाँलाई उच्च सम्मान दिईयो । र, जुन भेटघाट भयो । त्यसमा भारतका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, उपराष्ट्रपति, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट भयो । उहाँहरुसँग अन्यन्त सौहार्दपूर्ण छलफल भयो । दुई देशवीचको सम्बन्धलाई मजबुद बनाउने, सुमधुर बनाउने, भारतीय सहयोगका आयोजनाहरुलाई कार्यान्वयन गर्ने लगायतका विषयमा कुराकानी भयो ।

तर भारतीय प्रधानमन्त्रीले नेपालको निर्वाचनको बारेमा केही पनि बोल्नुभएन अरे नि ?

यसमा हाम्रो तर्फबाट सम्मानीय राष्ट्रपतिज्यूले नेपाल संविधान कार्यान्वयन गर्न लागिपरेको, यसमा महिला सहभागितादेखि लिएर धेरै समानुपातिक समावेशी विशेषता रहेको र स्थानीय निर्वाचन लगायत यो तीन वटा निर्वाचन तोकिएकै मितिभित्र सम्पन्न गर्न लागिपरेको कुरा उहाँले उल्लेख गर्नुभयो । र, सबैको भावनालाई समेटेर सरकार अगाडि बढ्ने प्रयासमा रहेको पनि बताउनुभयो । भारतीय प्रधानमन्त्रीसहित अन्य नेताहरुको छलफलमा उहाँहरुले लोकतन्त्र क्रियाशिल गर्ने नेपालको प्रयासमा भारतको सँधै सहयोग रहने कुरा उल्लेख गर्नुभएको थियो ।

संविधान संशोधनको विषयमा भारतको अडान पूरानै हो ? निर्वाचनको बारेमा भारतीय पक्षको के धारणा पाउनुभयो ?

नेपाल सरकारको प्रयासका बारेमा स्वयम राष्ट्रपतिज्यूले बताउनुभयो । सबैलाई समेटेर, सबैको भावनालाई उच्च महत्व दिएर सरकार काम गरिरहेको छ । भारतीय नेताहरुले नेपालको लोकतन्त्र सुदृढिकरण गर्ने अभियान र विकास र आर्थिक समृद्धिमा भारत साथमै रहेको बताउनुभयो । उहाँहरुले हामीसँग साथमै छु भन्नुभयो ।

तर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको बारेमा नयाँ दिल्लीले अहिलेसम्म मुख खोलेको छैन नि ?

उहाँहरुले नेपालको यो आफ्नो प्रयास हो । नेपालको लोकतन्त्र सुदृढिकरण गर्ने र विकासलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा नेपालको आफ्नो कुरा हो भनेर उहाँहरुले भन्नुभएको छ । सम्मान गर्नुभएको छ । भारतको हाम्रो प्रयासमा साथ छ ।

संविधान संशोधन र निर्वाचनको बारेमा भारतको के दृष्टिकोण रहेछ ? प्रष्ट रुपमा भनिदिनुहोस त ?

भारतीय राष्ट्रपतिजीले हामीले सबैलाई समेटेर लैजाने गरेको प्रयासमा साथ रहेको बताउनुभयो । हामीले जे अपेक्षा गरेका थियौं, त्यही अनुसारको उत्तर उहाँहरुबाट आएको छ । त्यो भन्दा अर्को के अपेक्षा हुनुपर्छ । रात्रिभोजमा सम्मान दिईयो । भारतीय उच्चस्तरीय नेताहरु आउनुभयो । पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायतका उच्चस्तरीय नेताहरु आउनुभएको थियो । हामीले हाम्रो लोकतन्त्र सुदृढीकरणको लागि प्रयासरत छौं भन्दा उहाँहरुले भारतले सँधै हाम्रो प्रयासमा साथ दिने प्रतिबद्धता जनाईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्