Logo

साहित्यिक र सांस्कृतिक कार्यक्रबाट नयाँ वर्षको स्वागत



 

काठमाडौँ, ६ वैशाख । विश्व नेपाली साहित्य महासङ्घ दक्षिण बेलायतले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरी नेपाली नयाँ वर्षलाई स्वागत गरेको छ ।

कार्यक्रममा नेपालबाट साङ्गीतिक यात्रामा पुग्नुभएका गायक शिव परियारको मुख्य साङ्गीतिक प्रस्तुति रहेको थियो । सो अवसरमा महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले महासङ्घले सन् २०१५ मा आयोजना गरेको दोस्रो विश्वव्यापी कविता प्रतियोगितामा महिलातर्फ उत्कृष्ट भावना परिष्कृत सुनुवारलाई सम्मान प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सुनुवार, घनबहादुर थापालगायतले. नयाँ वर्षको कविता वाचन गर्नुभयो । सो अवसरमा गायक बिसी राई र गङ्गाराज राईलाई भीमु मेमोरियल ट्रस्टका तर्फबाट ट्रस्टका संस्थापक शिवकुमार राईले सम्मान गर्नुभयो ।

सो अवसरमा थिर थापाको ‘बिहानी’ शीर्षक गीति एल्बम, जानुका राईको ‘धर्तीको जन्म’ शीर्षक गीतिसङ्ग्रह, टिमाया राईको ‘सौम्य’ शीर्षक एलबम विमोचन गरिएको थियो । समारोहमा सुरेन्द्र इङ्नामले बाँसुरीको धुन तथा गायकगायिका परियार, मोहन लिम्बू, गणेश पुन, मधुसूदन थापा मगर, विमला लिम्बू, करिष्मा घम, जानुका पुन र सुष्मा राईले गीत तथा सीता शेरचन, सन्ध्या गुरुङ, मलियना तिगेला, नेहा लिम्बू, निङ्वा लिम्बू, शशाङ्क राई र गणेश लिम्बूले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

वातावरण कविता प्रतियोगितामा वन्दना
साहित्य महासङ्घ दक्षिण बेलायतद्वारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा भोजपुरकी वन्दना राई (यो साझा घरको मान्छे) प्रथम, प्रज्वल अधिकारी ( शहरले गुमाएको प्राकृतिक पेन्टिङ) द्वितीय र पवित्रा राई (खर्पनमा धर्ती बोकेरं) तृतीय हुनुभएको थियो । उहाँहरुलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजारसहित प्रमाणपत्र ‘गोर्खा रेडियो’का अध्यक्ष विजय हितान र सञ्चालक विनोदध्वज खड्काले हस्तान्तरण गर्नुभएको बेलायतबाट राजु सुब्बाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्