Logo

सिंहदबार र बालुवाटार घेर्ने ख्रीष्टियन महासंघको चेतावनी



काठमाडौं, ६ बैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले महासंको केन्द्रिय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको भन्दै उक्त घट्नाको निश्पक्ष छानबिनको माँग गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले खड्कामाथि भएको आक्रमण सिँगो ख्रीष्टियन समूदायमाथिको आक्रमण भएको आरोप लगाउँदै उक्त घट्नाको दोषीको बारेमा सरकारले सत्यतथ्य छानबिन गरी दोषिमाथि कडा कारबाहीको माँग गरेको छ ।

महासंघका अध्यक्ष सि.बी गहतराजले उक्त घट्नाको निन्दा गर्दै भने,‘हाम्रो कार्यालय सचिवमाथि भएको घट्नाको जति निन्दा गरेपनि कमै हुन्छ, जसले गरेको भएपनि त्यो घोर निन्दनीय र अक्षम्य छ, यस्ता गैर जिम्मेवारपूर्ण कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदछौं ।’ अध्यक्ष गहतराजले घट्नाको सत्यतथ्य बाहिर ल्याउनको लागि यथाशिघ्र छानबिन समिति गठन गर्नुपर्ने र दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माँग गरे ।

उनले घट्नाको दोषी पत्ता लगाएर दोषीमाथि कडा कारबाही नगरिए महासंघले सिंहदरबार र प्रधानमन्त्री निवकास बालुवाटार, संयुक्त राष्ट्रसंघको नेपाल हेडक्वार्टर घेर्ने समेत चेतावनी दिए ।

त्यस्तै उनले महासंघले सिडिओ कार्यालय तथा विभिन्न कूटनीतिक नियोगहरुमा समेत धर्ना दिने जनाए । देशभरिका ख्रीष्टियन समूदायको शान्ति, सुरक्षा दिलाउने काम राज्यले गर्नुपर्ने समेत गहतराजले माँग गरे ।

उनले भने,‘यो एउटा प्रतिनिधि घटनामात्रै हो, देशभरिका हाम्रा साथीहरुले ढुक्कका साथ बाँच्नु पाउनुपर्छ, ख्रीष्टियनहरुले ढुक्कसँग बाँच्न पाउनुपर्छ, यसको प्रत्याभूति सरकारले गर्नुपर्यो नि।’ उनले राज्यले शान्ति र सुरक्षा कायम नगरे देश तथा विदेशमा रहेका सम्पूर्ण ख्रीष्टियनहरु एक भएर प्रतिकारमा उत्रने समेत चेतावनी दिए ।

खड्कामाथि भएको उक्त आक्रमणले नेपाली नागरिकले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने शान्तिपूर्ण वातावरणमाथि चूनौति थपिएको महासंघले बताएको छ । महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘प्रधानमन्त्री, गृहमन्त्री तथा सुरक्षा निकायको ध्यानाकार्षण गराउँदै न्यूनतम मानव अधिकारको रक्षा गर्न माँग गर्दछौं, साथै देशभरका मण्डली तथा ख्रीष्टियन संघ–संस्था र सम्पूर्ण ख्रीष्टियन समूदायको नैसर्गिक अधिकारको रक्षा गर्दै यथाशिघ्र सरक्षाको ग्यारेण्टी गर्न सरकारसँग हार्दिक अपिल गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्