Logo

गच्छदारले प्रचण्डलाई दिए यस्तो सुझाव



काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको प्रमुख पाँच दलको बैठकमा सहभागी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले वर्तमान राजनीतिक समस्याको गाँठो फुकाउनको लागि नयाँ सुझावहरु अघि सारेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ५ दलको बैठकमा आफूलाई धेरै लामो समयपछि बोलाएकोमा निकै आक्रोशसहित प्रस्तुत भएका गच्छदारले सुरुमै कड्किँदै भने,‘जब अप्ठ्यारो पर्छ, अनि तपाई ठूला दलहरुले मलाई सम्झिनुहुन्छ, आज ठ्याक्कै १ सय ३५ दिनपछि मलाई बैठकमा बोलाउनुभयो, यो देशमा जब जब संकट आएको छ, तब तब मैले निकासको लागि ठूलो भूमिका खेलेको छु ।’

अध्यक्ष गच्छदारले यति भनिसकेपछि बैठक हलमा एकछिन शान्त छाएको स्रोतले बतायो । त्यतिमात्रै नभएर उनले आफ्नो औकात र हैसियत समेत सम्झाएका थिए ।

उनले लोकतन्त्रलाई संस्थागत गर्ने हो भने निर्वाचनको विकल्प नभएको समेत जिकिर गरे । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तीन तहकै निर्वाचन गर्नुपर्छ, स्थानीय तहको जग भनेको नै निर्वाचन हो, हामी निर्वाचनमा भाग लिन्छौं, तर अझैपनि समय बाँकी छ, यो बीचमा मधेशी मोर्चालाई पनि सहमतिमा ल्याउनुपर्छ, साथमै लिएर जानुपर्छ, अहिले देखिएका सबैखाले असमझदारी हटाउनुहोस्, संशोधनमा अझै के/के गर्नुपर्छ भनेर सोध्नुहोस्।’

गच्छदारले मधेशी मोर्चा चुनावमा आउने वातावरण भए स्थानीय तहको चुनाव अघि नै संविधान संशोधन गरेर भएपनि जानुपर्ने सुझाए । यद्धपी उनले बैशाख ३१ गते नै निर्वाचन गराउनुपर्ने कुरा दोहोर्याए ।

उनले अहिले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन अनिवार्य आवश्यकत्ता भएको दोहोर्याए । त्यस्तै अध्यक्ष गच्छदारले अहिले आफ्नो पार्टी सरकारमा नजाने समेत स्पष्ट पारेको स्रोतले जनायो । उनको भनाई उद्धत गर्दै स्रोतले भन्यो,‘हामी चुनाव अघि सरकारमा जाँदैनौं, चुनाव सफल बनाउन हाम्रो पार्टी लाग्छ, हाम्रो ध्यान अहिले पूर्ण रुपेणः चुनावमा केन्द्रित छ ।’

बैठकमा उनले अघि सारेका नयाँ विकल्प र सुझावलाई सबैले प्रशंसा गरेको पनि स्रोतले जनायो । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका नेताहरुले मात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले पनि खुलेरै प्रशंसा गरेका थिए । मोर्चासँग् सहमति भए दुई चरणमा भएपनि निर्वाचन गराएर जानुपर्ने गच्छदारले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्